पालुङ क्याम्पसद्वारा विश्वविद्यालय शिक्षा अभिमुखीकरण सम्पन्न
१२ कक्षाको नतिजामा विद्यालयतर्फ बागेश्वरी र विद्यार्थीमा निकिता उत्कृष्ट
थाहानगर/२८ असार
पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
२८ असारमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रमान प्रधानको अध्यक्षतामा कक्षा १२ उत्तीर्ण विद्यार्थी, उत्कृष्ट विद्यालय र उत्कृष्ट विद्यार्थीलाई सम्मानसहित अभिमुखीकरण सम्पन्न गरेको हो ।
कार्यक्रममा विशिष्ट अतिथि थाहा नगर शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत सुर्य बहादुर थिङले गाउँ मै रहेको विश्वविद्यालय शिक्षाको अवसरलाई नगुमाउन आग्रह गर्नुभयो ।
क्याम्पस अध्यक्ष प्रधानले जुनसुकै पेसा व्यवसायमा आवद्ध हुन चाहेको भएपनि विश्वविद्यालय शिक्षालाई निरन्तरता दिन आग्रह गर्नुभयो । प्रधानले आर्थिक बिपन्नता भएका विद्यार्थीलाई उचित छात्रवृत्ति समेत उपलब्ध गराउने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख राजन मिश्रले पालुङ क्याम्पसको राष्ट्रिय नतिजाभन्दा सधैं उत्कृष्ट नतिजा आइरहेको बताउदै गाउँ मै पढ्न प्राथमिकता दिन आग्रह गर्नुभयो ।
कार्यक्रमा बज्रबाराही माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विक्रम जोशी, जनकल्याण माविका प्रधानाध्यापक रामकुमार बल, पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष कृष्ण बहादुर विष्ट, क्याम्पस उपाध्यक्ष राजिव कुमार स्याङ्तानले विश्वविद्यालय शिक्षाको महत्त्व दर्शाउदै गाउँ कै क्याम्पसलाई प्राथमिकता दिने आग्रह गर्नुभयो । अभिमुखीकरणको सहजीकरण क्याम्पसका सह-प्राध्यापक कुमार नेगीले गर्नुभयो ।
थाहा नगरका विभिन्न विद्यालयबाट नियमिततर्फ यस वर्ष कुल १ सय ३१ जना विद्यार्थी उत्तीर्ण हुँदा बागेश्वरी माविले ८५.७१ प्रतिशत सहित उत्कृष्टता हासिल गर्यो भने जनकल्याण माविकी छात्रा निकिता कार्कीले ३.६५ जीपीएसहित उत्कृष्ट हुन सफल हुनु भएको थियो ।
तस्वीरहरु: शम्भु अधिकारी







Comments