Byroad News

Loading...

थाहाको बजेट ९१ करोड


थाहाको बजेट ९१ करोड

थाहानगर/७ असार

मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार रुपियाँको बजेट पारित भएको छ । 

थाहा नगर सभाको २१ औं अधिवेशनमा नगर उपप्रमुख भरत गोपालीले पेश गर्नु भएको आगामी वर्षको बजेट सभाले सर्वसम्मत पारित गरेको हो । 

पेश भएको बजेट तथा कार्यक्रमलाई नगर प्रमुख विष्णु बहादुर विष्टले निर्णयार्थ पेश गर्नु भएको थियो । आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि सभामा कूल ९० करोड ९७ लाख ४४ हजार रुपियाँको विनियोजन पेश भएको थियो । जसमा संघीय सरकारबाट समानीकरण अनुदान १२ करोड ४३ लाख, समपूरक अनुदान १ करोड ३ लाख, सशर्त अनुदान ३१ करोड २८ लाख, राजस्व बाँडफाँट ११ करोड १० लाख ९१ हजार र दहत्तर बहत्तर १ करोड ५० लाख गरी जम्मा ५५ करोड ८४ लाख ९१ हजार रहेको छ । त्यसैगरी प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान १ करोड १२ लाख १७ हजार, समपूरक अनुदान २ करोड, ४० लाख, विशेष अनुदान ७० लाख, सशर्त अनुदान २ करोड ६६ लाख २२ हजार र राजस्व बाँडफाँट ५ करोड ७४ लाख १३ हजार ८ सय ९५ गरी जम्मा १२ करोड ६२ लाख ५२ हजार ८ सय ९५ रहेको छ ।बाँकी रकम नगरपालिकाको आन्तरिक राजस्व, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा अन्य स्रोतबाट व्यवस्थापन गरिने जनाइएको छ। 

नगरपालिकाले आन्तरिक आय वृद्धि, कर प्रशासन सुदृढीकरण तथा स्रोत व्यवस्थापनमार्फत बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ। आगामी आर्थिक वर्षको बजेटले कृषि उत्पादन वृद्धि, स्थानीय सडक तथा पूर्वाधार निर्माण, खानेपानी, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुदृढीकरण, युवा तथा खेलकुद विकास, महिला तथा सामाजिक समावेशीकरण, वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकतामा राखेको नगरपालिकाले जनाएको छ। 

सभाले आर्थिक विधयक, विनियोजन विधेयक र राजश्व विधेयक पनि सर्वसम्मत पास गरेको छ । नगरपालिकाको नगरसभामा प्रस्तुत गरिएको बजेटमा विकास निर्माण, पूर्वाधार विस्तार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन तथा जनसेवा प्रभावकारी बनाउने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।

Comments

KATHMANDU WEATHER