
हेटौंडा/२२ पौष
अहिले मकवानपुरको थाहा नगरका किसानलाई रासायनिक मल अभाव हुँदा आलु खेतीको चिन्ता बढिरहेको छ ।
थाहामा मल वितरण गर्न १७ वटा सहकारी र २ निजी व्यापारीले जिम्मा पाएको छ तर कृषि सामग्री संस्थानमा थाहाको लागि छुट्याइएको मलको कोटा सकिएपछि अहिले थाहामा मलको हाहाकार भएको छ ।
थाहामा मल अभाव भएपछि मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महेश कुमार बर्तौलाले मल सहज गरिदिन प्रदेश कृषि तथा पशु पंक्षी विकास मन्त्रालयलाई आग्रह गर्नु भएको छ ।
थाहाको यहि समस्यालाई लिएर नेकपा एमाले थाहा नगरका अध्यक्ष सुरेन्द्रमान प्रधानसहितको टोलीले सोमबार मन्त्री प्रकाश श्रेष्ठलाई भेट गरि समस्या समाधान गरिदिन आग्रह गर्नुभयो । एमाले थाहाका अध्यक्ष प्रधान, सचिव सुजन रायमाझी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीसहितको भेटमा मन्त्री श्रेष्ठले कृषि सामग्री संस्थान हेटौंडाका प्रमुख प्रकाश चन्द्र ज्ञवालीलाई बोलाई थाहाको माग सम्बोधन गर्न निर्देशन दिनुभयो ।
भेटमा संस्थानका प्रमुख ज्ञवालीले मन्त्रालयले निर्णय गरिदिए तत्कालका लागि समस्या समाधान गर्न संस्थान तयार रहेको बताउनु भयो । मन्त्री श्रेष्ठले मंगलबार नै बैठक राखी थाहामा थप कोटा पठाउने निर्णय गर्ने बताउनु भयो । "अहिले तत्कालका लागि आवश्यक मल पठाइदिन्छौँ । बाकी मल माघ पहिलो हप्ताभित्र उपलब्ध गराउछौँ ।" मन्त्री श्रेष्ठले बताउनु भयो ।
७ सय हेक्टर क्षेत्रफलमा आलु खेतीका लागि ५ सयदेखि ६ सय टन डिएपी र ३ सय टन युरिया मलको आवश्यकता पर्छ । करिव ७० हजार किलो बीउ आलु लगाउने गरिन्छ ।
तस्वीरमा: बायाँबाट मन्त्री श्रेष्ठ, एमाले अध्यक्ष सुरेन्द्रमान प्रधान, कृषि सामग्री संस्थान प्रमुख प्रकाशचन्द्र ज्ञवाली, एमाले सचिव सुजन रायमाझीलगायत ।
-
2 weeks ago
किसान महासंघ थाहा नगर अध्यक्षमा कृष्णभक्त महर्जन
-
-
1 month ago
अने किसान महासंघ थाहा संयोजकमा बिनोद
Comments