थाहानगर/४ साउन
आर्थिक मन्दीले व्यवसायमा प्रवेश गर्न डराइरहेकाहरुलाई प्रोत्साहन दिदै मकवानपुरको थाहानगरमा व्यवसायी सुरेन्द्रमान प्रधानले आफ्नो व्यवसायिक भवनमा नयाँ व्यवसायीहरुलाई ३ महिनाको भाडा शत प्रतिशत छुट दिने बताउनु भएको छ ।
थाहानगर उद्योग वाणिज्य संघका महासचिव समेत रहनु भएका प्रधानले थाहा नगरपालिका वडा नम्बर ४ थानाबजारस्थित आफ्नो व्यवसायिक भवनको दोस्रो तल्लामा रहेका ५ वटा सटर सबै ३ महिनाको पुरै भाडा छुट दिने आव्हान गर्नु भएको हो ।
बजारमा आर्थिक मन्दीका कारण नयाँ व्यवसाय गर्न डराइरहेका व्यवसायीहरुलाई लक्षित गर्दै यस्तो 'अफर' सार्वजनिक गर्नु भएको हो ।
सो बजारमा प्रति सटर मासिक ८ देखि १० हजार भाडा चलनमा छ । सो भवनको तल्लो तल्लामा बजाज मोटरसाइकल शोरुम, मोवाइल पसल र सहकारी सञ्चालनमा छन् । नगरपालिका तथा पालुङ प्रवेश गर्ने इन्द्रायणी मोटरबाटो र त्रिभुवन राजपथको चोकमा पर्ने सो भवनमा होटल तथा रेष्टुरेन्ट बाहेक अन्य व्यवसाय तथा कार्यालयहरुका लागि सो भाडा छुट दिइने प्रधानले बताउनु भयो ।
"व्यवसाय गर्छु भनेर सोच बनाएका युवाहरु पनि बजारमा देखिएको मन्दीका कारण हतोत्साहित देखेको छु, एक प्रकारले भाडा नै तिर्न पो सकिँदैन कि भनेर मनमा डर लिएको पनि देखियो, त्यसैले मैले मेरो नयाँ सटरहरुमा ती युवाहरुलाई लक्षित गरेर फ्री योजना ल्याएको हुँ ।" यसले व्यवसायिक क्षेत्रमा प्रवेश गर्न खोजेका युवाहरुलाई हिम्मत बढ्ने र स्थापित हुन प्रोत्साहन मिल्ने प्रधानको अपेक्षा छ । सो बजारमा ३ वटा बैंक, तीन वटा सहकारी, मालपोत कार्यालय, नापी कार्यालय, इलाका प्रहरी कार्यालय, आँखा केन्द्र रहेको छ ।
-
4 months agoरुदाने मार्गले थाहाको भविष्य उज्वल बनाउनेछ: बर्तौला
-
-
4 months ago"महिला उमेदवार सिफारिसको अधिकार अनेमसंघलाई"

Comments