Byroad News

Loading...

थाहा नगर बाल भेला सम्पन्न, नगरको नीति तथा कार्यक्रममा बालबालिकाको आवाज समेट्न माग


थाहा नगर बाल भेला सम्पन्न, नगरको नीति तथा कार्यक्रममा बालबालिकाको आवाज समेट्न माग

थाहानगर/८ असार
थाहा नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजना तथा सुनौलो सामुदायिक सिकाई केन्द्र थाहा १ को समन्वयमा थाहा नगरपालिकामा अवस्थित नगर बाल सञ्जाल, वडा स्तरीय बाल क्लव, विद्यालयमा गठित बालक्लवहरुका पदाधिकारीहरुको भेला थाहा ३ शिखरकोटको विकास घरमा आज सम्पन्न भएको छ । 

नगर बाल सञ्जालका अध्यक्ष खुसी गोपालीको अध्यक्षता तथा नगर प्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा अध्यक्ष, नगरका बालवालिका, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु तथा संघसंस्थाका प्रतिनिधिहरु गरि १०५ जनाको उपस्थिति थियो । 

कार्यक्रममा थाहा नगरपालिकाको आगामी आ.व. ०७९/०८० का लागि हुन गइरहेको नीति तथा कार्यक्रममा बालबालिकाहरुको आवाज संबोधन होस भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो । पहिलो चरणमा बालबालिकाहरुको ४ वटा समुह निर्माण गरि उनीहरुका आवश्यकताहरु टिपोट गर्ने र आ-आफ्ने समुहबाट नेता छनौट गरि प्रस्तुत गरिएको थियो भने दोस्रो चरणमा ४ वटै समुहबाट आएका बुँदाहरुलार्ई उच्च, मध्यम र सामान्य महत्वको आधारमा प्राथमिकिकरण गरि एकिकृत दस्तावेजीकरण गर्ने कार्य गरिएको थियो । कार्यक्रममा नगर शिक्षा प्रमुख शोभाकर रेग्मीले कार्यक्रमबाट माग भएका बाल आवाजलाई कार्यान्वयनको लागि आफ्नो तर्फबाट संबोधन गरिने तथा नगर कार्यपालिकामा अनुरोध गर्ने प्रतिबद्धता व्यक्त गरे । 

जनकल्याण माविका प्रधानाध्यापक सानोभाई कार्कीले 
बालबालिकाहरुबाट प्रस्तुत माग तथा अवधारणा विचारणीय, सोचनीय र मननीय रहेकोले अभिव्यक्त गर्दै सम्वन्धित निकायबाट यसको कार्यान्वयन गर्नुपर्ने विचार व्यक्त गरे । बालबालिकाहरुका लागि नीति निर्माण भइरहँदा बालबालिकाकै आवाज उत्थान हुने गरि कार्यक्रम गरिनु सान्दर्भिक भएको कुरा बज्रवाराही माविका प्रधानाध्यापक रमेशमान डंगोलले व्यक्त गरे । कार्यक्रममा वडा अध्यक्ष हिरेन्द्र रायमाझी,  नारायण लामा, शिक्षा शाखा अधिकृत माधव विक्रम मल्ल, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, सुचना अधिकारी सुरज कुमार भुजेल, इन्द्रायणी माविका प्रधानाध्यपक नारायण बहादुर कार्की, सरस्वती माविका प्रधानाध्यापक राजेन्द्र थापा, झम्केश्वरी माविका प्रधानाध्यापक उद्धवप्रसाद आचार्य, मत्स्यानारायण माविका प्रधानाध्यापक विष्णुहरि ढकाललगायत विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो । प्रस्तुत मागपत्र नगर कार्यपालिका तथा नीति तथा कार्यक्रममा प्रस्तुत गर्नको निम्ति असार ९ गते नगर प्रमुखलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । 

थाहा नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख प्रतिमा लामाले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्य प्रकाश पारे । कायर्यक्रमको समन्न्वय तथा संचालन सुनौलो सामुदायिक सिकाई केन्द्रका अध्यक्ष रुपचन्द्र गोपालीले गरेका थिए ।

तस्वीरहरु सौजन्य: रुपचन्द्र गोपाली

Comments