थाहानगर/२१ फागुन
उत्तरी मकवानपुरका लागि राजधानी जोड्ने सबैभन्दा नजिकको बाटो अर्थात समृद्धिको सडक मार्ग चन्द्रागिरीमा शनिबार राष्ट्रिय युवा संघ नेपाल थाहा नगर कमिटीले खाजा खुवाउदै हौसला प्रदान गरेको छ ।
स्थानीयहरुको दैनिक रेखदेखमा स्तरीय सडक निर्माणमा जुटिरहेका स्थानीय तथा श्रमिकहरुलाई शनिबार युवा संघले चन्द्रागिरीमै पुगेर पिकनिक मनाएको हो । 'श्रमिक र स्थानीयको हौसलाका लागि हामीले यो कार्यक्रम गरेका हौं ।' युवा संघ मकवानपुरका जिल्ला सदस्य सुजन कार्कीले बताए ।
करिव २ सय जनाको उपस्थिति रहेको कार्यक्रमले साङ्केतिक रुपमा राज्यको ध्यानाकर्षण गराउने उद्देश्य समेत रहेको कार्कीले बताए ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल, नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव महेश बर्तौला, प्रदेश कमिटीका सदस्य तथा संविधान सभा सदस्य सुवाष चन्द्र ठकुरी, युवा संघका केन्द्रीय सदस्यहरु, नेकपा एमाले थाहा नगरका अध्यक्ष अच्युत्तम प्रसाद ढकाल, जनप्रतिनिधिहरु लगायतको उपस्थिति थियो ।
'सबैको भविष्य जोडेको चित्लाङ-चन्द्रागिरी-थानकोट मार्गलाई समयमै निर्माण सम्पन्न गर्ने तर्फ स्थानीय सरोकार समितिलाई हौसला प्रदान गर्न यो कार्यक्रम आयोजना गरेका हौं, कार्यक्रमले राजधानीमा बसिरहेका नागरिकहरुको समेत ध्यानाकर्षण गराउने काम गरेका छौँ ।' युवा संघ थाहानगर अध्यक्ष प्रदिप भट्टले भने, 'हामी यो सडकले पूर्णता नपाएसम्म लगातार हौसला प्रदान गरिरहनेछाैं ।'

Comments