Byroad News

Loading...

विभिन्न अस्पतालमा व्यवस्थापन समिति अध्यक्ष नियुक्त


विभिन्न अस्पतालमा व्यवस्थापन समिति अध्यक्ष नियुक्त

काठमाडौं/१ फागुन
बागमती प्रदेश सरकारले विभिन्न जिल्लामा अस्पताल व्यवस्थापन समितिको नयाँ अध्यक्ष नियुक्ति गरेको छ । प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले प्रदेशको १३ जिल्लाका २३ अस्पताल तथा आयुर्वेद अस्पताल केन्द्रमध्ये हाल ८ वटा जिल्लामा अस्पताल व्यवस्थापन समिति अध्यक्ष नियुक्त गरेको हो ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले मकवानपुर,  सिन्धुली, भक्तपुर, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर र दोलखाका जिल्ला अस्पताल तथा आयुर्वेद अस्पताल केन्दको अस्पताल व्यवस्थापन समिति अध्यक्ष नियुक्त गरेका हुन् । मन्त्री लामाले अघिल्लो सरकारले नियुक्त गरेको आयुर्वेद अस्पताल केन्द्र र जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्षको नियुक्ती खारेज गर्दै नयाँ नियुक्त गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार जिल्ला आयुर्वेद केन्द्र मकवानपुरमा सुदीप बर्तौला, सिन्धुली अस्पताल अध्यक्षमा विजय कुवँर, भक्तपुर अस्पतालमा रमण कायस्थ, रामेछापमा यमकुमार पाख्रिन, चौतारा अस्पताल सिन्धुपाल्चोकमा टंकबहादुर कार्की, बज्रबाराही अस्पताल ललितपुरमा कृष्ण चन्द्र महर्जन र चरिकोट अस्पताल दोलखामा जयराम श्रेष्ठलाई नियुक्त गरेको हो ।

मन्त्रालयले प्रदेश अन्तरगतका १२ अस्पताल र १३ आयुर्वेद केन्द्रहरुका अध्यक्षहरुलाई यसअघि नै हटाएको थियो । मन्त्रालयले उनीहरुसँग कार्यसम्पादनबारे स्पष्टिकरण मागेको थियो । कतिपयले जवाफ पठाएका थिए भने कतिपयले वेवास्ता गरेका थिए । उनीहरुलाई कार्य क्षमताको अभावका आधारमा हटाएको जनाइएको छ ।

प्रदेशभित्रका अस्पतालको सञ्चालन तथा व्यवस्थापन (पहिलो संशोधन) २०७८ को दफा ३ को उपदफा ३(क) मा संचालन तथा व्यवस्थापन समितिमा मनोनित सदस्यले मन्त्रालय समक्ष राजीनामा दिएमा, मृत्यु भएमा, फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएमा, कार्य क्षमताको अभाव भई मन्त्रालयले पदमुक्त गरेमा सदस्यहरुको पद रिक्त हुने प्रावधान रहेको छ ।

हाल गठबन्धनमा रहेका दलहरुको सहमतिमा बाँकी अस्पताल तथा आयुर्वेद अस्पताल केन्द्रको अध्यक्षहरु यसै साताभित्र नियुक्त गर्ने गरी मन्त्रालयले तयारी अगाडि जनाइएको छ । 

Comments

KATHMANDU WEATHER