थाहानगर/१९ कात्तिक
प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाइदै आएका छन् ।
राष्ट्रिय विभूति शंखधर साख्वाःले वि.सं. ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।
वि.सं. २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो । नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा, थाहानगरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।
गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
वि.सं. २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौँमा अझै छ ।
यसैबीच, आज नेपाल संवत ११४२ को अवसरमा विभिन्न स्थानमा विविध कार्यक्रम गरि मनाइदै छ ।
मकवानपुरको थाहानगरमा आज भिन्तुना आयोजक मुल समारोह समिति थाहानगरको आयोजना तथा पालुङ साँस्कृतिक सम्पदा संरक्षण समिति, थाहा २ र थाहा युवा समाज थाहा २ को आयोजनामा मोटर साइकल र्यालीको आयोजना गरिएको छ ।
कार्यक्रममा ओखर बजार र गोपाली गाउँका नेवार समुदायबाट समेत बृहत् सहभागिता रहनेछ ।
मोटरसाइकल र्याली ओखर बजारमा विहान साढे १० बजे र्याली शुरु भई थानाबजार - दोबाटो - शिखरकोट- गोपाली गाउँ - डाडागाउँ - भुङदल (डाडा मुख) - फाँटबजार - फुलपाती चउर महादेवस्थान - चाकचा पुल पालुङ हुँदै लामपाटीमा आई समापन गरिने आयोजकले जनाएको छ ।
म्हः (आत्म) पूजा
आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउनु हुन्छ । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ ।
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments