Byroad News

Loading...

असोज १० गतेदेखि विद्यालय खोल्ने काठमाडौं महानगरको निर्णय, यस्तो छ मापदण्ड


असोज १० गतेदेखि विद्यालय खोल्ने काठमाडौं महानगरको निर्णय, यस्तो छ मापदण्ड

काठमाडौं/७ असोज
महानगरपालिकाले असोज १० गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । 

बुधबार साँझ बसेको बैठकले कोभिडबाट सावधानी अपनाउँदै विद्यालय कसरी सञ्चालन गर्ने भन्नेबारे विभिन्न २७ बुँदे मापदण्ड समेत अनुमोदन गरेको छ । सोही मापदण्डका आधारमा विद्यालय सञ्चालन गर्न खुला गरिएको काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीले सो कार्यालयका प्रतिनिधि समेत सहभागी भएर यस्तो निर्णय गरिएको उल्लेख गर्नुभयो । यता जिल्ला प्रशासन कार्यालयले भने यसबारे कुनै निर्णय गरेको छैन । नगरपालिकाले निम्न मापदण्डका आधारमा पठनपाठन अघि बढाउन सबै विद्यालयलाई परिपत्र गरेको छ । 

यस्तो छ विद्यालय सञ्चालनका तय गरिएको २७ बुँदे मापदण्ड

१) विद्यालय सञ्चालन गर्नुपूर्व अभिभावक, शिक्षक अभिभावक संघ र सम्बन्धित वडा समेतका सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी सहमति र समझदारीमा मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने गराउने ब्यवस्था मिलाउने ।

२) विद्यालयहरुले विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाइ अनिवार्य रुपमा शिक्षा विभागमा पेश गर्ने ।

३) विद्यालयमा विद्यार्थीहरुको सम्पर्कमा रहने शिक्षक, कर्मचारी, चालक, सहचालकलगायत सबैले खोप लगाएको सुनिश्चित गर्ने यदि खोप लगाउन कोही बाँकी भए तुरुन्त कामपा स्वास्थ्य विभागमा सम्पर्क राखी खोप लगाउने ।

४) विद्यालय सञ्चालनपूर्व विद्यालय परिसर र कक्षा कोठाको पूर्ण सरसफाइको सुनिश्चितता गर्ने ।

५) विद्यालयको भौतिक अवस्था, विद्यार्थी संख्या र उपलब्ध जनशक्तिका आधारमा एकै सिफ्ट वा फरक–फरक सिफ्ट र दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने ।

६) विद्यालयको गेटमा र कक्षा कोठा बाहिर सेनिटाइजर वा साबुन पानीको प्रबन्ध गरी बेला बेलामा हात सेनिटाइज गर्ने वा धुने व्यवस्था मिलाउने ।

७) प्रत्येक दिन विद्यालयको गेटमा नै थर्मल गन प्रयोग गरी ज्वरो परीक्षण गर्ने र ज्वरो नआएको एकिन गरेर मात्र भित्र पठाउने व्यवस्था मिलाउने ।

८) विद्यालयको गेट, कक्षा कोठा र शौचालयको प्रयोग गर्दा बच्चाहरु लाइनमा, पालैपालो दूरी कायम गरी निस्कने र पस्ने प्रबन्ध गर्ने ।

९) सबैजनाले अनिवार्य रुपमा मास्क लगाउने, जगेडा मास्क लिइ आउने र मास्क नलगाइ आउने विद्यार्थीलाई विद्यालयले मास्क उपलब्ध गराउने व्यवस्था मिलाउने ।

१०) खाजा र पानीको प्रबन्ध विद्यार्थी स्वयंले घरबाट नै गर्न सूचित गर्ने ।

११) कक्षाकोठाको क्षमताका आधारमा भौतिक दूरी कायम हुनेगरी मात्र विद्यार्थीहरुको बसाइ व्यवस्थापन गर्ने ।

१२) प्रत्येक दिन कक्षा शुरु गर्नुपूर्व र कक्षा सञ्चालन पश्चात विद्यालय परिसर र कक्षा कोठाहरू अनिवार्य रुपमा सेनिटाइज गर्ने व्यवस्था मिलाउने ।

१३) स्वास्थ्य समस्या भएका विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई विद्यालय नआउन जानकारी गर्ने ।

१४) विद्यालयहरूले बालबालिकाहरूलाई हरेक दिन कक्षा सञ्चालनपूर्व १० देखि १५ मिनेट स्वास्थ्य सतर्कताबारे सजग गराउने र मनोपरामर्श गरी उत्प्रेरणा प्रदान गर्ने ।

१५) विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र सम्बन्धित वडाबाट नियमित रुपमा अनुगमन र समन्वय गर्ने व्यवस्था मिलाउने ।

१६) विद्यालयमा बच्चालाई स्वास्थ्य समस्या देखिएमा छुटै कक्षमा राख्ने व्यवस्था गर्ने, अभिभावकलाई खबर गर्ने र तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजाने व्यवस्था मिलाउने ।

१७) विद्यालयमा सामूहिक कार्यक्रम र सामूहिक प्रार्थना आदि नगराउने ।

१८) विद्यालयमा खाजा समयमा भिडभाड नहुने गरी आलोपालो गर्ने प्रबन्ध मिलाउने ।

१९) विद्यार्थीलाई आफ्ना पाठ्यसामग्री, पानीका बोतल, खाजा, झोला आदि सामान आफुले मात्र प्रयोग गर्न र साथीसँग साटासाट नगर्न सजग गराउने ।

२०) अभिभावकले नै बच्चा विद्यालयमा ल्याउने लैजाने कार्यलाई प्रोत्साहित गर्ने । सवारी साधन प्रयोग गर्नुपर्ने अवस्थामा सामाजिक दूरी कायम हुने गरी सवारी साधनमा बस्ने व्यवस्था मिलाउने ।
२१) विद्यालयमा स्वास्थ्य वा विज्ञान शिक्षकलाई कोभिड फोकल शिक्षक तोक्ने र हरेक कक्षामा नियमित अनुगमनका लागि विद्यार्थी मनिटरको व्यवस्था गर्ने ।

२२) विद्यालयमा स्वास्थ्य हेल्प डेस्क राख्ने ।

२३) सुरुका दिनमा माथिल्लो कक्षाबाट पठनपाठन शुरु गरेर क्रमशः तल्ला कक्षाहरू सञ्चालन गर्ने व्यवस्था मिलाउने ।

२४) सुरुका दिनमा कक्षा सञ्चालन गर्दा केही पिरियड मात्र पठनपाठन गरी क्रमशः अवस्था हेरी पिरियडको संख्या बढाउँदै लैजाने ।

२५) सबै विद्यार्थीहरुको भौतिक उपस्थितिमा पूर्णरुपमा कक्षा सञ्चालन नहुन्जेल चालू वैकल्पिक सिकाइलाई निरन्तरता दिने ।

२६) अचानक कुनै नयाँ परिस्थिति आइपरेमा महानगर शिक्षा विभागमा खबर गरी प्राप्त निर्देशन अनुसार गर्ने ।

२७) काठमाडौं महानगरपालिका, शिक्षा विभागमार्फत नियमित अनुगमनको व्यवस्था मिलाउने ।

Comments

KATHMANDU WEATHER