काठमाडौं/८ भदौ
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन्।
मंगलबार बिहान जिल्ला सभापतिहरूले पार्टी कार्यालयमा धर्ना गरेका हुन्।
नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीले क्रियाशील सदस्यताको नामावली पार्टीको वेवसाइटमा सार्वजनिक गरिनुपर्ने लगायत माग गरेर धर्ना गरिएको बताउनु भयो ।
उहाँकाअनुसार २२/२३ जिल्लाका सभापतिहरू आज केन्द्रीय कार्यालयमा धर्नामा पुगेका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापति धर्नामा पुगेका छन्। वडा, जिल्लाबाट आएका क्रियाशीलको नामावली काटेर केन्द्रबाट सिधै क्रियाशीलको नाम राखिएको आशंका उहाँहरूको छ।
‘वेवसाइटमा क्रियाशीलको नाम सार्वजनिक हुनुपर्छ। म क्रियाशील सदस्य छु कि छैन प्रत्येक व्यक्तिले हेर्न पाउनुपर्छ। नाम वा थरलगायत केही बिग्रेका छन् भने सच्याउने मौका पाउनुपर्छ,’ उहाँले भन्नुभयो ।
साथै उहाँहरूले महाधिवेशन प्रतिनिधि नै जिल्ला सभापति उठ्न पाउने विधानको व्यवस्था लागू गरिनुपर्ने बताउनु भएको छ । एक निर्वाचन क्षेत्र भएको ठाउँमा क्षेत्रीय प्रतिनिधि पनि जिल्ला सभापति उठ्न पाउने व्यवस्था नेतृत्वले गरेकोमा जिल्ला सभापतिहरूले आपत्ति जनाउनु भएको हो ।
आफूहरूले विधानअनुसारका माग राखेकोले सजिलै पूरा गर्न सकिने पनि उहाँले बताउनु भयो ।
‘नक्कली काम भएको छैन भने वेवसाइटमा क्रियाशीलको विवरण राख्न किन डराएको?,’ उहाँले भन्नुभयो, ‘क्रियाशील सदस्य सार्वजनिक नगरिनुमा मनपरी भएको छ भन्ने देखाउँछ।’
क्रियाशील सदस्यको नामावली अहिले नै सार्वजनिक गरेमा भदौ १८ गते हुने वडा अधिवेशनमा लफडा नहुने पनि उहाँले बताउनु भयो। वडादेखि जिल्लासम्म क्रियाशीलको नाम छुटेकोमा पछि लफडा हुन सक्ने उहाँले बताउनु भयो।
कांग्रेसले ९ लाख क्रियाशील सदस्य बनाएको छ। क्रियाशील सदस्यताबारे विवाद हल गरेर सोमबार बेलुकीमात्र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवा र नेता पौडेललाई प्रतिवेदन हस्तान्तरण गर्नु भएको थियो ।

Comments