Byroad News

Loading...

अब थाहानगरका विद्यालयहरुमा छड्के निरीक्षण गरिने


अब थाहानगरका विद्यालयहरुमा छड्के निरीक्षण गरिने

थाहानगर/३० साउन
कोरोनाका कारण लामो समयदेखि शैक्षिक गतिविधि करिव शून्य भएको थाहानगरमा अब कसरी क्रियाकलाप गर्ने भन्ने विषयमा निर्णय गर्न सबै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक-अभिभावक संघका अध्यक्षहरुसङ्ग नगर शिक्षा समितिमा पदाधिकारीहरुको संयुक्त बैठक बस्ने अनि निर्णयमा पुग्ने निधो गरेर विभिन्न ४ स्थानमा बैठक आव्हान गर्यो ।

साउन २७ गते साबिक आग्रा, साउन २८ गते साबिक बज्रबाराही र चित्लाङ, साउन २९ गते साबिक टिष्टुङ र साउन ३० गते साबिक दामन र पालुङका विद्यालयहरुको बैठक आव्हान गरेर विभिन्न महत्वपूर्ण १० वटा प्रस्तावहरुमा छलफल गर्ने निधो गर्यो नगर शिक्षा समितिले ।

अन्य स्थानहरुमा त करिव बैठकहरु पूर्ण रुपमा सफल रह्यो नै तर मूख्य क्षेत्र दामन पालुङ मै आव्हान गरिएको बैठकमा अपेक्षित उपस्थिति रहन सकेन । ११ बजे निर्धारण गरिएको बैठक साढे १२ बजे सुरु गर्दासम्म निजीसहित १२ वटा विद्यालयको मात्र सहभागिता रह्यो । 

१८ वटा सामुदायिक र ६ वटा निजी गरि २४ वटा विद्यालय रहेको दामन पालुङमा सबैतिर भएको छलफलका आधारमा निष्कर्ष निकाल्दै भाद्रदेखि प्रभावकारी रुपले शैक्षिक गतिविधि सञ्चालन गर्ने योजना शिक्षा समितिको थियो तर प्राय: विद्यालयहरुले विभिन्न बहाना बनाएर बैठक मै उपस्थिति जनाएनन् । उपस्थित विद्यालयहरुबाट पनि एउटाबाट वि.व्य.स. अध्यक्ष र अर्को एउटाबाट शिक्षक-अभिभावक संघका अध्यक्ष मात्र उपस्थिति थियो । अन्य उपस्थित विद्यालयका प्रधानाध्यापक तथा कुनै विद्यालयका शिक्षक प्रतिनिधिको मात्र उपस्थिति थियो ।

बैठकमा सरकारले शिक्षकलाई विद्यार्थीसङ्ग नियमित सम्पर्कमा रहेर शैक्षिक गतिविधि सञ्चालन गर्न भनेर प्रति विद्यार्थी मासिक १२५ रुपियाँका दरले बैशाख, जेठ र असारसम्मको ३७५ रुपियाँ सबै विद्यालय (४-१०) को खातामा जम्मा गरिसकेको छ । विद्यालयमा ईन्टरनेट जडान गर्न प्रति विद्यालय १२ हजारका दरले जम्मा गरिसकेको छ तर धेरै विद्यालयले साउन सकिन लाग्दा पनि खातामा जम्मा भएको रकमको सदुपयोग समेत नगरेपछि रिपोर्टिङ लिने गरेर बैठक आव्हान भएको थियो ।

शिक्षा समितिका अनुसार सामुदायिक विद्यालयहरुमा नि:शुल्क भनिए पनि शुल्क असुली गरिरहेको उजुरी आएपछि सो हिसाब समेत पारदर्शी रुपमा बुझाउन र हिसाब सहित बैठकमा उपस्थित हुन निर्देशन दिइएको थियो तर बैठकमा आउनु पर्ने प्रधानाध्यापक, विव्यस अध्यक्ष, शिअ संघका अध्यक्षहरुको उपस्थिति नभएपछि बैठकको उद्देश्य पूरा हुन सकेन । तर पनि बैठकमा नगर शिक्षा अधिकारी शोभाकर रेग्मीले भाद्र १ गतेदेखि सबै शिक्षकहरु अनिवार्य रुपमा विद्यालयमा उपस्थित भैइ कुनै न कुनै रुपले क्रियाकलाप गर्न निर्देशन दिनुभयो ।

उहाँले भाद्र १ गतेदेखि दैनिक रुपले शिक्षा समितिले कुनै न कुनै विद्यालयमा छ्ड्के गर्ने र ठीक नदेखिए कार्वाही गरिने चेतावनी दिनु भयो । 

शिक्षा समितिका संयोजक शशीधर सुबेदीले आजको बैठकमा उपस्थित नहुने विद्यालयहरुलाई स्पष्टीकरण सोधिने बताउनु भयो । बैठकमा अब नगरभित्रका विद्यालयहरुमा करार शिक्षक छनौट गर्नु परेमा नगरस्तरीय छनौट समितिले आवश्यकताका आधारमा छनौट गर्ने नीति निर्माण गरिन लागेको विषयमा समेत सुझाव माग गरिएको थियो । 

बैठकमा सहभागीहरुले विद्यालय स्वयंले शिक्षक छनौट गर्नु भन्दा नगरले छनौट गर्नु उपयुक्त हुने सुझाव दिइएको छ । यस अघि बज्रबाराहीमा भएको बैठकमा पनि नगरले नै छनौट गर्न उपयुक्त हुने सुझाव प्राप्त भएको शिक्षा संयोजक सुबेदीले बताउनु भयो तर आग्रामा भएको बैठकमा इन्द्रायणी माविका अध्यक्ष सुमन कार्की र सुन्दरीदेवी माविका अध्यक्ष बिनायक गोले र टिष्टुङमा भएको बैठकमा बागेश्वरी माविका अध्यक्ष किरणमान वलले विद्यालय व्यवस्थापन समितिको अधिकारभित्र रहेको शिक्षक छनौटको अधिकार नगरले हनन गर्न नहुने तर्क राख्दै बिद्यालयलाई नै अधिकार सम्पन्न बनाउनु पर्ने बताउनु भएको थियो ।

बैठकहरुबाट प्राप्त सुझावहरुका आधारमा शिक्षा समितिले निर्णय गर्ने सुबेदीले बताउनु भयो ।

Comments

KATHMANDU WEATHER