Byroad News

Loading...

सबै विद्यालय बन्द गर्न प्रशासनको निर्देशन


सबै विद्यालय बन्द गर्न प्रशासनको निर्देशन

तनहुँ/१९ साउन
जिल्ला प्रशासन कार्यालय तनहुँले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोभिडको जोखिम कायमै रहेको र विद्यालय खोल्ने अनुमति नभए पनि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आए पछि बन्द गर्न निर्देशन दिइएको हो ।

प्रशासनको समन्वयमा सोमबार बसेको बैठकले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । उक्त बैठकमा प्याब्सन, एनप्याब्सन, व्यास नगरपालिकाका शिक्षा प्रमुख लगायतको सहभागिता थियो । सहायक प्रमुख जिल्ला अधिकारी बरालले सीसीएमसीले निर्णय नगरेसम्म विद्यालय सञ्चालन गर्न नपाइने बताउनु भयो । “विद्यालय सञ्चालनका लागि प्रशासनले अनुमति दिएको छैन, कोरोना जोखिम कायमै रहेको अवस्थामा विद्यालय बन्द गर्न निर्देशन दिएका छौँ”, बरालले भन्नुभयो।

व्यास नगरपालिका शिक्षा शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मीले विद्यालय खोल्ने अनुमति नभए पनि कतिपय विद्यालयले आफूखुशी विद्यालय सञ्चालन गरेको बताउनु भयो । “विद्यालय खोल्यौँ भनेर कतिपय विद्यालय सञ्चालकहरूले जानकारी गराउनुभएको छ तर हामीले खोल्ने अनुमति दिएका थिएनौँ”, उहाँले भन्नुभयो, “कोभिड जोखिम कायमै रहेकाले अहिले विद्यालय नखोल्नुस् भनेका थियौँ ।”

तनहुँमा साउन २० गतेसम्म निषेधाज्ञा कायमै छ तर विद्यालयले सबै विद्यार्थीलाई विद्यालयमै बोलाएर भौतिकरूपमा कक्षा सञ्चालन गरिरहेका छन् । तनहुँमा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमण थप वृद्धि भइरहेको छ । 

Comments

KATHMANDU WEATHER