Byroad News

Loading...

आमाको दूध भण्डारण केन्द्र स्थापना गर्ने सरकारको तयारी


आमाको दूध भण्डारण केन्द्र स्थापना गर्ने सरकारको तयारी

काठमाडौं/१७ साउन
सरकारले ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा सो बैंक स्थापना गर्ने तयारी गरिएको जानकारी दिएको छ ।

जन्मेदेखि ६ महिनासम्मका शिशुलाई अनिवार्य रुपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्न लागिएको महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले जानकारी दिनुभयो।

‘कम दूध आउने आमाका शिशुलाई चिकित्सकहरुको सल्लाहमा आमाकै दूधको व्यवस्था गर्न सरकारले ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्ने तयारी गरेको हो,’ विश्व स्तनपान सप्ताहको शुभारम्भ कार्यक्रमको अवसरमा आयोजित पत्रकार सम्मेलनमा पराजुलीले भन्नुभयो, ‘जुन आमाको दूध तत्काल आउँदैैन वा कमी छ, त्यस्ता बच्चालाई सो बैंकमा राखिएको दूधको व्यवस्था गर्नेछौं । ह्युमन मिल्क बैंक यसै वर्ष काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा स्थापना गरिनेछ ।’

शाखाले यसरी स्थापना गरिने मिल्क बैंकमा दूध राख्नका लागि करिव एक करोड रुपियाँ लागतमा मेसिन खरिद गर्ने तयारी गरिएको पनि जनाएको छ । कार्यक्रममा आमाको दूधलाई विस्थापित गर्ने गरी आएको ‘ल्याक्टोजिन’को विज्ञापन नगर्न, नगराउन पनि सम्बन्धित सबै पक्षलाई सचेत गराएको छ । शाखाका प्रमुख पराजुलीले ल्याक्टोजिनको विज्ञापन गरेको पाइए कडा कारबाही गर्ने चेतावनी समेत दिनुभयो । ‘ल्याक्टोजिनको विज्ञापन कहीं भएको पाइए त्यसउपर कडा कारबाही हुन्छ,’ उहाँले भन्नुभयो।

आइतबारबाट शुरु भएको विश्व स्तनपान सप्ताह साउन २३ गतेसम्म चल्नेछ । ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने मूल नाराका साथ मनाउन शुरु गरिएको स्तनपान सप्ताहमा सबै स्थानीय तहमा समेत जनचेतनामूलक कार्यक्रम आयोजना हुने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले जनाएको छ ।

स्तनपान संरक्षण तथा सम्वर्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक वर्ष विश्वभर विश्व स्तनपान सप्ताह मनाउँदै आइएको छ ।

Comments

KATHMANDU WEATHER