Byroad News

Loading...

कक्षा १२ को परीक्षा होमसेन्टरबाटै


कक्षा १२ को परीक्षा होमसेन्टरबाटै

काठमाडौं/१३ साउन
साउन ३१ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा होम सेन्टरबाटै भौतिक उपस्थितिमा हुने भएको छ ।

बुधबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ख्याल गरेर यस पटकको परीक्षा होम सेन्टरबाटै लिइने जानकारी दिनु भएको हो ।

बैठकमा सचिव अर्यालले भन्नुभयो, ‘अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, विद्यार्थीले कोठा खोजेर बस्नुपर्ने, कोरोना जोखिमलाई पनि थप बढाउन सक्ने भएकाले होम सेन्टरबाट गर्नुपर्ने भएको छ ।’

कक्षा १० को आन्तरिक मूल्याङ्कनबाटै नतिजा निकाल्ने तयारी भए पनि कक्षा १२ को आन्तरिक मूल्याङ्कनबाट नभई भौतिक उपस्थिति मै परीक्षा लिनुपर्ने सुझाव आएकोले होम सेन्टरबाटै परीक्षा लिन लागिएको सचिव अर्यालले जानकारी दिनुभयो । 

कक्षा १२ का २८ भन्दा कम विद्यार्थी भएका एक हजार, ५० भन्दा कम विद्यार्थी भएका दुई हजार ३००, एक सयभन्दा कम विद्यार्थी भएका तीन हजार ४०० र ५०० भन्दा बढी विद्यार्थी भएका विद्यालय ८९ वटा रहेको पनि सचिव अर्यालले बैठकमा जानकारी दिनुभयो ।

बैठकमा सांसद खगराज अधिकारीले होम सेन्टरबाट परीक्षा लिँदा निरीक्षक त्यहीँको नहुने व्यवस्था गर्न पनि सुझाव दिनु भएको छ । 

सांसद मानबहादुर विश्वकर्माले विद्यार्थीले उच्च शिक्षा पढ्न नसक्ने गरी कुनै पनि कार्य हुन नहुने बताउनु भयो ।  सांसद मिना कुमारी जिसीले स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ कार्यान्वयन गरिनुपर्ने सुझाव दिनु भयो । 

यस्तै सांसद गिरिराजमणि पोखरेलले शिक्षक र विद्यार्थीलाई कोरोना खोप नदिएसम्म भौतिक उपस्थितिमा परीक्षा लिनु सुरक्षित हुन नसक्ने भन्दै आपत्ति जनाउनु भयो । उहाँले आन्तरिक मूल्याङ्कनमा विद्यालयहरूले जथाभाबी नगरुन् भनेर स्थानीय सरकारलाई जिम्मेवारी दिइनुपर्ने सुझाव दिनुभयो ।

शिक्षा मन्त्रालयका सचिव रामकृष्ण थपलियाले सांसदहरूको प्रश्नको जवाफ दिनु हुँदै सीसीएमसीको निर्णय अनुसार परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । 

परीक्षा केन्द्रहरुलाई पनि सीसीएमसीको निर्णय अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ परीक्षा सञ्चालनको व्यवस्थापन मिलाउन भनिएको उहाँले बताउनु भयो । 

Comments

KATHMANDU WEATHER