काठमाडौं/१२ साउन
सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।
मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई साउन २५ गतेदेखि लागु हुने गरी कामु भई प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने गरी तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनु भएका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भयो ।
नेपाली सेनाको ४४ औं प्रधानसेनापतिका रुपमा रथी प्रभुराम शर्माले नेतृत्व लिँदै हुनुहुन्छ । युद्ध कार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक पूरा गर्नु भएका शर्मा सेनाभित्र ‘मिलनसार’ अधिकारीको रुपमा चिनिनुहुन्छ ।
शर्माले बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी सम्हाल्नु भएको छ ।
शर्माको जन्म सन् १९६४ जनवरी ५ मा काठमाडौँमा भएको हो । मिलिटरी एकेडेमीबाट ग्राजुएट भएपछि उहाँ पुरानो गोर्खा बटालियनमा कार्यरत हुनुभयो ।
त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गर्नु भएका शर्माले भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गर्नु भएको छ । भारत र अमेरिकामा उच्चशिक्षा एवं सैन्य कला हासिल गर्नु भएका शर्मा सेनाभित्र मिलनसार मात्रै नभई ‘एक्सन म्यान’का रुपमा पनि परिचित हुनुहुन्छ । उहाँ सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित भइसक्नु भएको छ ।
४३ औं प्रधानसेनापति पूर्णचन्द्र थापाले जेठ २३ मै पत्रकारहरुलाई साक्षी राखेर नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको घोषणा गर्नु भएको थियो । त्यसको करिब दुई महिनापछि अर्थात् साउन २४ बाट उहाँ बिदामा बस्दै हुनुहुन्छ ।
अवकाश प्राप्त हुनु एक महिनाअघि बिदामा बस्ने प्रचलन अनुसार उहाँ बिदामा बस्न लाग्नु भएको हो । उहाँ बिदामा बस्नु भएपछिका लागि सरकारले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments