ललितपुर/१८ असार
ललितपुर महानगरपालिकाको नीति तथा कार्यक्रम र बजेटका विषयमा देखिएको बिवाद समाधान गर्नका लागि नेकपा एमाले, माओवादी केन्द्र र महानगरपालिकाका मेयर चिरीबावु महर्जनबीच चार बुँदे समझदारी भएको छ ।
विधि र प्रक्रिया नै पुरा नगरी मेयर महर्जनले नीति र बजेट पारित गर्ने तयारी गरेको भन्दै एमाले र माओवादीले विरोध गर्दै आएका थिए । महानगरको कार्यपालिका र नगरसभा दुबैमा मेयर अल्पमतमा हुनुहुन्छ । अल्पमतमा पर्नु भएका कारण महानगरको नीति र बजेट अहिलेसम्म पारित हुनसकेको छैन ।
विवाद समाधानका लागि त्रिपक्षीय बैठकबाट चार बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको महानगरको वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जनले जानकारी दिनुभयो । विभिन्न समयमा राखेका ध्यानाकर्षण, ज्ञापन र असहमतिका पत्रका सम्बन्धमा २०७८ असार २३ गतेभित्र कार्यपालिकामा छलफल गरी टुंग्याउने, कार्यपालिकाको बैठक नियमित रुपमा राख्दै जाने, आगामी दिनमा त्रिपक्षीय समन्वय, सहमति र सहकार्यका आधारमा छलफल गरी कार्यपालिकाबाट निर्णय गरी कार्यान्वयन गर्ने र एक आपसका कमजोरीहरु देखिएमा आपसी छलफलका माध्यमबाट सुधार गर्ने सहमति जुटेको उहाँले बताउनु भयो ।
सहमतिपत्रमा मेयर महर्जन, नेकपा एमालेका तर्फबाट श्रीगोपाल महर्जन र माओवादी केन्द्रका तर्फबाट रवीन्द्र महर्जनले हस्ताक्षर गर्नु भएको छ । मेयर महर्जनले बिहीबार नगरसभा बैठक बोलाउनु भएको थियो । नीति तथा कार्यक्रमका विषयमा अध्ययन गर्न बहुमत नगरसभा सदस्यहरुले आग्रह गरेपछि शनिबार विहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।
भोलि ११ बजे बस्ने बैठकमा नीतिमा केके संशोधन गर्नुपर्छ भन्ने राय पेश गर्ने विपक्षीहरुको तयारी छ । बजेटका सन्दर्भमा भने आर्थिक विधेयक र विनियोजन विधेयक समेत कार्यपालिका बैठकमा हालसम्म पेश गरिएको छैन । कार्यपालिकाबाट पारित नगरी आएको विधेयक मान्य नहुने कार्यपालिका सदस्य श्रीगोपाल महर्जन बताउनु हुन्छ । कार्यपालिकाबाट पास भएर आए सबैलाई स्वीकार्य हुने उहाँले बताउनु भयो ।
हरेक स्थानीय तहहरुले १० असारमै बजेट ल्याउनुपर्ने कानूनी व्यवस्था छ । ललितपुरले पनि गत १० गते नै बजेट ल्याउने तयारी गरेको भए पनि मेयरले विधि र प्रक्रिया पुरा नगरेको भन्दै बहुमत नगरसभा सदस्यहरुले नगरसभा बैठक नै बहिष्कार गर्नु भएको थियो ।
ललितपुरमा मेयर, उपमेयर र १० वटा वडाका वडाध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित हुनुहुन्छ । महानगरका २९ वडामध्ये १४ वटामा नेकपा एमाले र ४ वटामा नेकपा माओवादी केन्द्र विजयी भएको थियो । त्यस्तै एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी हुनु भएको थियो ।
-
5 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments