Byroad News

Loading...

थाहानगरको वजेटमा मिश्रित प्रतिक्रिया, नागरिक असन्तुष्ट


थाहानगरको वजेटमा मिश्रित प्रतिक्रिया, नागरिक असन्तुष्ट

थाहानगर/११ असार
थाहा नगरपालिकाले असार १० गते प्रस्तुत गरेको आ.व.२०७८/०७९ को वजेटमा मिश्रित प्रतिक्रिया आएको छ । 


११ असारमा रेडियो दामनको एउटा कार्यक्रममा कुरा गर्दै नेकपा माओबादी केन्द्र थाहा नगर कमिटीका अध्यक्ष अरुण रायमाझीले करिव करिव पार्टीले दिएको सुझाव अनुसारकै वजेट आएको बताउनु भयो । 


सोहि कार्यक्रममा नेपाली काँग्रेस थाहा नगर समितिका सभापति योगेन्द्रमान श्रेष्ठले पनि सामुदायिक विद्यालयहरुमा कुनै न कुनै बहानामा शुल्क असुली गर्ने गरिरहेको प्रथालाई अन्त्य गर्न नसकेका बाहेक अन्य वजेटहरु सन्तुलित रहेको प्रतिक्रिया दिनुभयो । 


कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य सुरेन्द्रमान प्रधानले प्रस्तुत वजेटले थाहानगरको सपनालाई छुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले प्रस्तुत वजेट चुनावमुखी भएको ठूलो हिस्सा सडक केन्द्रीत रहेकोमा असन्तुष्टी व्यक्त गर्नुभयो । आफ्ना पार्टीको नेतृत्व रहेका स्थानीय तहहरुमा विनियोजित वजेटहरुको कार्यान्वयनका लागि पार्टीले समीक्षा गर्ने समेत बताउनु भयो । कार्यक्रममा जनता समाजवादी पार्टीका बागमती प्रदेश नेता इन्द्र बहादुर श्रेष्ठले पनि समग्रमा जनभावना अनुसारको वजेट नआएको टिप्पणी गर्नु भयो । उहाँले कृषि, पर्यटन, स्वरोजगारमुखी वजेट निर्माण हुनु पर्नेमा परिमाणमुखी नभई लोकप्रियताका आधारमा वजेट विनियोजन गरिएकोमा आपत्ति जनाउनु भयो । 


यसैगरी, प्रस्तुत वजेटहरुमध्ये वडाअन्तर्गत आएका वजेटहरुमा फरक फरक योजनाहरु जोडिएर बनाइएकोमा स्थानीय नागरिकहरु असन्तुष्ट भएका छन् । धेरैले सामाजिक सञ्जालहरुमार्फत् विरोध तथा असन्तुष्ट व्यक्त गरेका हुन् । आवश्यकताका आधारमा वजेट विनियोजन हुनु पर्नेमा पहुँचका आधारमा वजेट विनियोजन गरिएको टिप्पणी गरिएको छ । 
थाहा नगरपालिकाले कुल ९५ करोड ६४ लाख ३२ हजार रुपियाँको वजेट प्रस्तु गरिएको थियो । 

Comments

KATHMANDU WEATHER