Byroad News

Loading...

गुल्मीमा घरेलु मदिरा ब्राण्डिङ गर्ने कानून पारित


गुल्मीमा घरेलु मदिरा ब्राण्डिङ गर्ने कानून पारित

गुल्मी/११ असार
गुल्मीको मालिका गाउँपालिकाले स्थानीय घरेलु मदिरालाई ब्राण्डिङ गरी बिक्री गर्ने ऐन पारित गरेको छ ।

गाउँपालिकाको १० असारमा सम्पन्न नवौं गाउँसभाले स्थानीयस्तरमा उत्पादित घरेलु मदिरा बिक्री वितरण तथा व्यवस्थापन ऐन बहुमतले पारित गरेको हो ।

ऐन पारित भएसँगै लुकिछिपी उत्पादन हुँदै आएको घरेलु मदिराको उद्योग सञ्चालन गरी बिक्रिबितरण गर्न बाटो खुलेको छ । यसका लागि गाउँपालिकाबाट अनुमति लिनु पर्ने छ । देशका विभिन्न स्थानमा घरेलु मदिरा उत्पादन र बिक्री वितरणको अध्ययन गरेपछि यस्तो ऐन ल्याइएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताउनु भयो । 

स्थानीयस्तरमै उत्पादन हुने कोदो र विभिन्न फलफूल खेर गहिरहेकाले त्यसबाट गुणस्तरीय मदिरा उत्पादन गर्ने ऐन बनेको उनको भनाइ छ । गाउँमा अवैध ढंगले उत्पादन भएका मदिरा भट्टीले स्वास्थ्यमा नकरात्मक असर पार्ने भएकाले गुणस्तर मापन गरी स्टीकर टास्ने र सिलबन्दी गर्ने गरी ऐन बनाइएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए ।

नेपालको सविधान २०७२ को अनुसूची ८ ले दिएको अधिकार प्रयोग गर्दै ऐन जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीको भनाइ छ । ऐन पारित भैसकेकोले अब नियमावली बनाएर अघि बढिने भण्डारीले बताउनु भयो । 

उद्योग सञ्चालनको अनुमति दिन सकिने व्यवस्था गरिए पनि गाउँपालिकाले बनाएको नीति नियमविपरीत भएको खण्डामा भने ५० हजारसम्म जरिवाना गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

Comments

KATHMANDU WEATHER