काठमाडौं/९ असार
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौँ–तराई–मधेश द्रुतमार्गअन्तर्गत प्याकेज नं. २ धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोली आज (बुधबार) काठमाडौँ आएको छ ।
नेपाली सेनाको समन्वयमा ग्वाञ्जाओबाट चार्टर्ड उडानद्वारा सो कम्पनीको विशेषज्ञ टोली काठमाडौँ आइपुगेको हो ।
सुरुङ डिजाइनको मुख्य कामका लागि आएको टोलीमा कम्पनी परियोजना प्रबन्धक तथा सुरुङ, पुल र सडक इञ्जिनियरसहितको १४ सदस्यीय विज्ञ समूह संलग्न रहेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो । राष्ट्रिय गौरवको प्राथमिकताप्राप्त काठमाडौँ–तराई–मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित धेद्रे–लेनडाँडा सुरुङमार्ग २८ अर्ब ५३ करोडरुपियाँ लागतमा निर्माण गर्न पोली च्याङ्दासँग गत वैशाख ३१ गते सम्झौता भएको थियो । टोलीले कार्यालय स्थापना गरी डिजाइनको कामलाई तीव्रता दिनेछ । कम्पनीको नेपालमा रहेको समूहले यसअघि नै सर्भेको काम सुरु गरिसकेको छ ।
सम्झौता भएको छ महिनाभित्र डिजाइनको काम पूरा गर्ने अठोट र तदारुकता देखाएर पोली च्याङ्दाको टोली काठमाडौँ आएको हो । डिजाइन तयार भएको तीन वर्षभित्र सुरुङ निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सेनाले द्रुतमार्गको प्याकेज नं. १ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड र प्याकेज नं. २ का लागि पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो । पहिलो प्याकेज करिव २१ अर्ब तीन करोड रुपियाँमा निर्माण गर्ने सम्झौता भएको छ । पहिलो प्याकेजमा एउटा र दोस्रो प्याकेजमा छोटाछोटा दुई सुरुङ छन् ।
सम्झौतापत्रमा द्रुतमार्गका तर्फबाट प्रमुख सहायकरथी विकास पोखरेल र निर्माण कम्पनीका तर्फबाट प्याकेज नं. १ का लागि कार्यकारी निर्देशक सु यान र प्याकेज नं. २ का परियोजना प्रबन्धक प्रमुख झु तीनग्यु बारबराले हस्ताक्षर गर्नु भएको छ ।सम्झौताबमोजिम निर्माण कम्पनीलाई छ महिना डिजाइन अवधि र तीन वर्ष निर्माण समय प्रदान गरिएको छ ।
आयोजनालाई तोकिएको अवधिभित्र सम्पन्न गर्न सेनाले बनाएको ११ क्लष्टरमध्ये बाँकी नौ क्लष्टरका ठेक्का अघि बढ्ने क्रममा छ । त्यसपछि समानान्तररुपमा सबै कामले एकै चोटी गति लिने प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
एसियाली राजमार्गको मापदण्डका आधारमा बनाउन लागेको द्रुतमार्गको निर्माणपछि मध्य र पूर्वी तराईबाट काठमाडौँ उपत्यकामा आवतजावत गर्न सडक यातायातको दूरी उल्लेख्यरुपमा घट्ने छ । ललितपुरको खोकनाबाट सुरु भई बाराको निजगढमा पूर्वपश्चिम राजमार्गमा पुगेर जोडिने द्रुतराजमार्ग निर्माणले मुलुकको आर्थिक विकास र समृद्धिमा कायपलट ल्याउने अपेक्षा गरिएको छ ।
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments