Byroad News

Loading...

कर छुट गर्न उद्योग वाणिज्य संघको मागसहित नगरपालिकालाई सुझाव


कर छुट गर्न उद्योग वाणिज्य संघको मागसहित नगरपालिकालाई सुझाव

थाहानगर/१ असार
थाहा नगरपालिकाको आउदो आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा व्यवसायी लक्षित कार्यक्रमहरुलाई जोड दिएर नीति तथा कार्यक्रम ल्याउन थाहानगर उद्योग वाणिज्य संघले सुझाव पेश गरेको छ ।

आगामी असार १० गते हुने नगरको नीति तथा कार्यक्रमका लागि नगरपालिकाले सुझाव माग गरेपछि आज (मङ्गलबार) संघका अध्यक्ष कविराज खत्रीले नगर उपप्रमुख खड्ग गोपालीमार्फत नगरपालिकालाई सुझाव पत्र पेश गर्नु भएको हो । 

सुझाव पत्रमा गत वर्षदेखि कोभिड-१९ र निषेधाज्ञाका कारण सबै प्रकारका व्यवसायहरु संकटमा परेको ध्यानाकर्षण गराउदै दुई वर्षको कर सतप्रतिशत छुट गर्न मागसहित सुझाव दिइएको छ । सुझावमा घर बहाल नै तिर्न कठिनाई भैरहेको बेलामा कर लिनु समेत अन्यायपूर्ण रहने भन्दै कम्तिमा घर बहालमा ५० प्रतिशत छुट दिन सुझाव दिइएको छ ।

सुझाव पत्रमा व्यवसायी कर तथा नयाँ व्यवसाय दर्ताका लागि संघलाई वेवास्ता गर्नाले बिगतमा नगरपालिका र व्यवसायी दुबैलाई घाटा भएको भन्दै संघले व्यवसायी कर, घर बहाल, विज्ञापन, बिटौली करलगायतमा समन्वय गर्न सुझाव दिइएको छ । 

संघले त्रिभुवन राजपथ सडक मापदण्ड अनुसार केन्द्रीय नीति मै परिवर्तन गरिनु पर्ने भएकोले नीतिगत रुपले संशोधन गराउन नगरपालिकाले भूमिका निर्वाह गर्न आग्रह गरिएको छ । सडक ऎन २०३२ अनुसार त्रिभुवन राजपथ सडकको केन्द्रबिदुबाट दायाँबायाँ २५/२५ मिनेट हुनु पर्नेछ । ऎनमा व्यवस्था भएपनि व्यवहारिक रुपले त्यो मापदण्ड अनुसार सडक फराकिलो बनाउन सम्भव नभएको तर सो सीमाभित्र सुबिधासम्पन्न भवनहरु निर्माणमा अवरोध पुगेको, बैंकहरुमा धितो सुरक्षणको रुपमा प्रयोग गर्न नपाएको हुँदा केन्द्रीय ऎन मै संशोधन गर्न आवश्यक पहल गर्न सुझाव दिइएको छ ।

संघले सामान ढुवानीमा सहज गरि बजार मूल्यमा एकरुपता ल्याउन भित्री सडकहरुको उचित मर्मत सुधार गर्नतर्फ पनि ध्यानाकर्षण गरिएको छ ।

नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम यहि असार १० गते हुदैछ । 

Comments

KATHMANDU WEATHER