Byroad News

Loading...

थाहाको नीति तथा कार्यक्रमका लागि बुझायो एमालेले सुझाव


थाहाको नीति तथा कार्यक्रमका लागि बुझायो एमालेले सुझाव

थाहानगर/१ असार
थाहा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रममा सुझाव मागेपछि नेकपा एमाले थाहानगर कमिटीले सुझाव पेश गरेको छ । 

मङ्गलबार थाहा नगरपालिका पुगि एमाले थाहानगर अध्यक्ष अच्युत्तम प्रसाद ढकालले उपप्रमुख खड्ग गोपालीमार्फत नीति तथा कार्यक्रमका लागि सुझाव बुझाउनु भएको हो । 

११ शीर्षक र २७ बुँदाहरुमा सुझाव दिइएको एमाले नगर सचिव कुमार नेगीले जानकारी दिनुभयो । आगामी असार १० गते हुने नगरको नीति तथा कार्यक्रमका लागि समावेश गरिनु पर्ने कार्यक्रमहरुको लागि सुझाव माग गरे अनुसार एमालेको तर्फबाट सुझाव पेश गरिएको नेगीले बताउनु भयो ।

सुझावहरुमा भौतिक निर्माणतर्फ नेपाल सरकारको नीति तथा कार्यक्रममा परेको चित्लाङ-थानकोट सुरुङमार्ग निर्माणका लागि थाहानगरले अवलम्बन गर्नु पर्ने नीतिलाई पास गरि संघीय सरकारमा पहल गर्न सुझाव दिएको छ । यसैगरी, निर्माणाधिन गणेशमान मार्ग, थाहा नगर रिङरोडको अवधारणा रोकिएको प्रति ध्यानाकर्षण गराउदै सो रिङरोड निर्माण कार्यलाई प्राथमिकता दिन अनुरोध गरिएको छ ।

यसैगरी, भू-संरक्षणतर्फ खोला तथा प्राकृतिक दोहनलाई नियन्त्रण गरि सम्भावित क्षतिको न्यूनिकरणमा जोड दिन भनिएको छ । सुझाव पत्रमा पर्यटन उद्योगको विकासका लागि नगर स्तरीय पर्यटन बोर्ड गठन गरि संघीय सरकारको पर्यटकीय गन्तव्यमा थाहानगरलाई सुचिकृत गराउनेतर्फ ध्यानाकर्षण गराइएको छ ।

यसैगरी शिक्षातर्फ एक मावि एक प्राविधिक विषय अध्यापन गराउनेतर्फ सुझाव दिइएको छ । सुझावमा हरेक वर्ष नोक्सानी व्यहोरिरहेको थाहानगरको पालुङ बहुमुखी क्याम्पसलाई आत्मनिर्भर बनाउनेतर्फ योजना बनाउन ध्यानाकर्षण गरिएको छ ।

एमालेले विगतमा पनि सुझाव दिइदैआएको ध्यानाकर्षण गराउदै स्वास्थ्यतर्फ आउदो वर्ष कोभिड-१९ नियन्त्रण लक्षित कार्यक्रम निर्माण गरि नगरमा रहेका सबै स्वास्थ्य केन्द्रहरुलाई व्यवस्थित गर्न भनिएको छ । 
सुझावमा नगरपालिकाको स्थापनाकाल मै नीति बनाइसकिएको एक घर एक धारा नीतिलाई कार्यान्वयन गर्न सुझाव दिइएको छ ।

किसानहरुको संलग्नतामै किसान बोर्डको गठन गरि कृषि बिमा लागू गर्न र समस्या पहिचानमा जोड दिन भनिएको छ । यसैगरि, नगरस्तरीय युवा र महिलाका लागि बोर्डहरु गठन गरि सोही बोर्डमार्फत  स्वरोजगारमूलक कार्यक्रम लागू गर्न सुझाव दिइएको छ । निजी क्षेत्रसङ्ग समन्वय गरि नगरले निजी क्षेत्रलाई अभिन्न अङ्गको रुपमा लिन सुझाव दिइएको छ । 

एमालेले आर्थिक अभावका कारण थाहानगरमा स्वतन्त्र संचार क्षेत्रको विकास हुन नसकेको प्रति सचेत गराउदै सञ्चारमाध्यमहरुलाई सहयोगी भूमिका निर्वाह गर्न सुझाव दिइएको छ । साथै, भविष्यमा नगरको आन्तरिक आम्दानीको स्रोत हुन सक्ने क्षेत्र पहिचान गरि लगानी गर्न सुझाव दिइएको छ ।

सुझावपत्र ग्रहण गर्दै थाहानगर उपप्रमुख खड्ग गोपालीले सबैबाट प्राप्त सुझावको आधारमा नगर कार्यपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम तय गरिने बताउनु भएको छ ।

थाहानगरले नगरमा क्रियाशील राजनीतिक दल, निजी क्षेत्रलगायतसङ्ग सुझाव माग गरेको थियो ।

Comments

KATHMANDU WEATHER