Byroad News

Loading...

५० लाख वृद्धभत्ता चोरी प्रकरणबारे मन्त्रालयले छानबिन थाल्यो


५० लाख वृद्धभत्ता चोरी प्रकरणबारे मन्त्रालयले छानबिन थाल्यो

काठमाडौं/१ असार/नुवाकोट पञ्चकन्या गाउँपालिका २ को वडा कार्यालयबाट भएको वृद्ध भत्ताको ५० लाख रुपियाँ चोरी प्रकरण सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छानबिन थालेको छ । गत चैत २४ मा चोरी भएको थियो । घटनाबारे लामो समयसम्म जानकारी नदिई स्थानीय तहमै मिलाउन खोजेपछि मन्त्रालयले टोली नै पठाएर छानबिन सुरु गरेको हो ।

गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङका अनुसार गत चैत २४ गते बैंकबाट झिकेर वडा कार्यालयको दराजमा राखेको सामाजिक सुरक्षा भत्ताबापतको ५० लाख रुपियाँ र कार्यालयमा रहेको थप ३ लाख ५३ हजार चोरी भएको थियो । बैंकबाट ल्याएको भोलिपल्ट भत्ता वितरण गर्न खोज्दा दराजमा रकम थिएन ।
‘सीसीटीभीबाट पनि चोर पत्ता लाग्न सकेन । हामीले प्रहरीमा उजुरी गरेर अनुसन्धान सुरु गरे पनि अझै परिणाम देखिएको छैन,’ उहाँले भन्नुभयो । सरकारी रकम वडा सचिव सरिता रावतको नाममा जम्मा गरेको, भत्ता वितरण बैंकबाट गर्नुपर्ने प्रावधानलाई बेवास्ता गरेको, एकपटकमा १० लाखभन्दा बढी रकम बैंकबाट झिक्न नपाइने भए पनि प्रशासकीय अधिकृत आफैंले पटक–पटक नियम उल्लंघन गरेको, घटनाको जानकारी नदिएको लगायतका गल्ती र असावधानीका कारण प्रशासकीय अधिकृतलाई निलम्बन गरेर मन्त्रालयले अनुसन्धान थालेको हो ।

पञ्चकन्यामा प्रशासकीय अधिकृत नरेश पुडासैनी चार वर्षभन्दा बढी समयदेखि कार्यरत छन् । उहाँले कहिल्यै सरुवा नमागेको मन्त्रालय स्रोतको दाबी छ । घटनाका विषयमा उहाँले दिएको स्पष्टीकरण चित्त नबुझेपछि मन्त्रालयले थप छानबिन थालेको हो ।

दराजमा कुनै पनि क्षति नपुर्‍याई रकम गायब भएकाले कार्यालयको सबै सूचना थाहा पाउने व्यक्तिले चोरेको शंका छ । मन्त्रालयको सचिवस्तरीय निर्णयबाट गठित उपसचिव मदन कोइराला र लेखा अधिकृत उमेश्वर काफ्लेको छानबिन टोलीले सोमबार उक्त वडा कार्यालय पुगेर कागजपत्र संकलन गरेको छ । घटनाको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि अनुसन्धान गरिरहेको छ । प्रहरीले घटना छानबिनका क्रममा जनप्रतिनिधि र कर्मचारीको निगरानी गरिरहेको छ ।

यसअघि सोही गाउँपालिका–५ को सामाजिक सुरक्षाबापतको भत्ता हिनामिना भएको शंकामा अख्तियारमा उजुरी परेपछि वडा सचिवले गल्ती भएको भन्दै १० लाख फिर्ता गरेका थिए । मन्त्रालयका प्रवक्ता तथा सहसचिव वसन्त अधिकारीले घटना बढी रहस्यमय बन्दै गएकाले टोली नै गठन गरेर छानबिन सुरु गरिएको बताउनु भयो ।

यसैबीच घटनालगत्तै गाउँपालिकाको उजुरीपछि पक्राउ परेका वडा सचिव रावत, करारका सहायक सचिव रामकुमार गिरी र कार्यालय सहायक नीलप्रसाद मिश्र रिहा हुनु भएको छ ।  उहाँहरूविरुद्ध मुद्दा चलाए पनि प्रमाणित हुन नसकेपछि जिल्ला अदालत नुवाकोटले उहाँहरूलाई धरौटीमा छाडेको हो । गिरी र मिश्र स्थानीय हुन् भने सचिव रावत एक वर्षअघि लोकसेवा उत्तीर्ण गरेर पोस्टिङ हुनु भएको हो । पैसा राखेको दराजको साँचो उक्त दिन गिरीले सचिव रावतलाई दिनु भएको थियो । उहाँले एउटा साँचो आफूसँग रहेको भन्दै अर्को सचिवलाई दिनु भएको थियो । 

त्यसअघि साँचो सचिवले राख्ने गरेकोमा त्यो दिन भने आफू आउन ढिलो भयो भने भत्ता बाँड्दै गर्नू भन्दै सचिवलाई साँचो छोडिएको थियो । भर्खर नियुक्ति भएर गएको र कार्यकाल सम्हालेको एक वर्षमा बाहिरी जिल्लाको कर्मचारीले यति ठूलो रकम हिनामिना गर्ने हिम्मत गर्न नसक्ने बुझाइ मन्त्रालयको छ । अहिले गाउँपालिकाले उहाँहरूलाई काममा लगाएको छैन । मन्त्रालयले भने हाजिर गराउन भनेको छ ।

Comments

KATHMANDU WEATHER