पोखरा/३० जेठ
आफैंले सहयोग गरेर राजनीतिमा ल्याएको राजीव गुरुङ ‘दीपक मनाङे’ले आफूलाई धोका दिएको निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनु भएको छ ।
आज (आइतबार) आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै नेकपा एमाले संसदीय दलका नेता गुरुङले मनाङेले आफूलाई ‘धोका’ दिएको दिएको बताउनु भएको हो । गुरुङलाई आफूले चुनाव जिताएको, प्रदेशसभा सदस्यको सपथ दिलाउन भूमिका खेलेको भन्दै उहाँले भन्नुभयो ‘सबै छोड्छु, राजनीति र समाजसेवा गर्छु, सुध्रिन्छु भनेपछि मैले नै सघाएको हो । तर, सबै डाँकूहरु वाल्मिकी नहुँदा रहेछन् ।’
गुरुङले मनाङेलाई १६ वैशाखमा युवा तथा खेलकुदमन्त्रीमा नियुक्ति गर्नु भएको थियो । तर पछिल्लो पटक मनाङ्गे कित्ता फेरेर विपक्षी तिर लागेपछि वैकल्पिक सरकार बनेको छ ।
निवर्तमान मुख्यमन्त्री गुरुङले आफूलाई यो भन्दा ठूलो धोका अरु नहुने बताउनु भयो । रुपान्तरण हुने अवसर हो भन्ने ग्रहण नगरेकाहरुले यसरी धोका दिने भन्दै उहाँले भन्नुभयो, ‘धतुरोको बोट आँगनमा रोपेर अमृत फल्दैन भनेको यही हो ।’
आफूले चाहेको भए मनाङेको सांसद पद जाने भएपनि त्यसो नगरेको समेत उहाँले बताउनु भयो । एउटा स्वतन्त्र सांसद कुनै अर्को संसदीय दलमा प्रवेश गरेर फेरि स्वतन्त्र हुन नपाइने भन्दै उहाँले भन्नुभयो, ‘यति सुविधा दिउँ न भनेर दिएको मात्र हो ।’

Comments