पछिल्लो समय सरकारले राष्ट्र निर्माणको तीन खम्बे अर्थ नीतिमा सहकारीलाई एउटा महत्वपूर्ण क्षेत्रको रुपमा मानेको छ । कुन बेला गाउँ गाउँमा सहकारी-घर घरमा रोजगारीको नारासहित सहकारीहरु निक्कै मौलाएको थियो । तर केही सहकारीहरु नियन्त्रण बाहिर गए पछि धेरै सदस्यहरुको निक्षेप डुबेका प्रशस्तै उदाहरणहरु पनि छन् । एउटै व्यक्ति एकै प्रकारका एक भन्दा बढि सहकारीमा सदस्य हुन नपाउने प्रावधानसहित राज्यले ऎन नै ल्याइसकेको छ तर, यही ऎन कार्यान्वयनमा निकै समस्या र चुनौतिहरु रहेको सहकारीकर्मीहरुले बताउदै आएका छन् । मकवानपुरको उत्तरी क्षेत्रमा पनि ३ दर्जन सहकारीहरु अस्तित्वमा छन् । साना, मझौला तथा ठूलै कारोवार हैसियतका सहकारीहरु छन् । तथापि अधिकांश सहकारीहरुको नाम र उद्देश्य जे जे भए पनि काम एकै प्रकारका छन् । यिनै सन्दर्भ र विषयमा केन्द्रीत रहेर थाहा नगरपालिकामा १४ वर्षदेखि संचालित अग्रस्थानमा रहेको, उत्कृष्ट सहकारीको उपाधिबाट पुरस्कृत भैसकेको सहकारी संस्था "पाथीभरा वचत तथा ऋण सहकारी संस्था लि.का कुशल व्यवस्थापक राजाराम कार्कीसङ्ग बाइरोड सम्पादक सुरेन्द्रमान प्रधानले गर्नु भएको कुराकानी ।
१, तपाईको सहकारीको हालसम्मको वित्तीय अवस्था र सदस्यहरुको अवस्था बारे स्पष्ट परिदिनुस न ।
-
यस अघि श्री पाथिभरा वचत तथा ऋण सहकारी संस्था लि.को वित्तीय अवस्था र सदस्यहरुको आवश्यकता सरसर्ति हेर्दा हालको परिस्थितिमा समेत त्यत्ति नराम्रो नभएको देखिन्छ । साथै, अब उपरान्त यस संस्थाको अवस्था र सदस्यहरुको अवस्थालाई पुर्नरुत्थान गर्न लागि जोड दिने तयारीका साथ लागि परेका छौँ ।
२, थाहा नगरपालिकामा अस्तित्वमा रहेका सहकारीहरुमध्ये अग्रपंक्तिमा यो सहकारी पर्ने गरेको छ, यो स्थानसम्म आइपुग्न तपाईहरुले के कस्ता कार्यक्रमहरु संचालन गर्नु भयो ?
-
थाहा नगरपालिकामा अस्तित्वमा रहेका सहकारीहरुमध्ये अग्रस्थानमा ल्याउनका लागि धेरै अवरोह पार गर्दै हाल यो स्थानमा आउन सफल भएका छौँ । हामीलाई हाम्रो सदस्य महानुभावहरुले धेरै सहयोग गर्नु भएको अनुभूति हाम्रो मानसपटलमा ताजा नै छ । हामीले यस सहकारी संस्था लि.मा सदस्यहरुको चाहना, भावना अनुरुपको कार्य साथै सदस्यता प्राप्त भएको शेयर धनीहरु बाहेक गैरसदस्य महानुभावहरुको विभिन्न टिकाटिप्पणीहरुले गर्दा सो कुरालाई हामीले अत्यन्त मार्मिक तरिकाबाट सोच विचार गरी कार्य गर्दा यस सहकारी संस्थालाई अग्र पंक्तिमा पुर्याउन सफल भएका हौँ । सबै कुराहरुलाई नकारात्मक रुपले मात्र लिने होभने कुनै कुरा र कार्य सफल हुन सक्दैन जस्तो लाग्छ । मैले साथै मेरो सहयात्री संचालक सतिमि, लेखा सुपरिवेक्षण समिति र अन्य कार्यसमितिको पदाधिकारीहरुको पनि अपरिहार्य सहयोग पाइरहेको छु । साथै, सो भन्दा पनि यस सहकारी संस्थाको भविष्य भनेको नै शेयर धनी महानुभावहरु नै हो जस्तो लाग्छ । उहाँहरुको मार्गनिर्देश, पदाधिकारीहरुको सहयोग साथै माथिल्लो संघहरुको मार्गनिर्देशबाट नै अग्रपंक्तिमा ल्याउन सफल भएको कुरा अवगत गराउन चाहन्छु ।
३, राष्ट्र बैंकको नीति अनुसार वित्तीय संस्थाहरुले निक्षेप र कर्जाको व्याजदरको फरक ६ प्रतिशत तोकेको छ, अतिरिक्त शुल्क असुल नगर्न निर्देशन दिएको छ, तर धेरै सहकारीले यो निर्देशन सुने नसुने झैं गरिरहेको छ, बैंक भन्दा निकै नै महङ्गो व्याजदरमा सदस्यहरुले कारोवार गरिरहेको अवस्था छ । यो संस्थामा के छ?
-
हामीले राष्ट्र बैंकको निर्देशन अनुसार सोहि मितिदेखि नै संचालक समितिमार्फत् अनुमोदन गराई फरक दर ६ प्रतिशत मात्र रहने गरी लागू गरिसकेका छौँ । अतिरिक्त शुल्क नलिने पनि सोहि मितिदेखि लागू गरेका छौँ । हामी राम्रो हुने नै माथिल्लो निकायको मार्गनिर्देशन अनुसारको कार्य गरेर हुने हो । राष्ट्र बैंक भनेको परिवारको रेखदेख गर्ने अभिभावक जस्तो हो । यो निर्देशनलाई नसुन्ने र नमान्ने विषयतर्फ जाने काम गर्नु भनेको आफै तल पर्नु हो जस्तो लाग्छ मलाई । हामीले यस सहकारी संस्थामा विभिन्न शीर्षकमा छुट्टाछुट्टै व्याज निर्धारण गर्ने गरेका छौँ र अन्य सहकारी संस्थामा भन्दा व्याजमा पनि त्यत्ति धेरै छैन जस्तो लाग्छ । हामीले दैनिक ऋणतर्फ ११ प्रतिशत, कृषि ऋणतर्फ १३ र १४ प्रतिशत व्याजदर रहेको छ । अझ, सोलाई परिमार्जन गरि घटाउनेतर्फ लागेको कुरा पनि जानकारी गराउन चाहन्छु । अझ यो भन्दा पनि राम्रो पक्ष हामीले हाम्रा सदस्यहरुलाई सजिलो तरिकाबाट ऋण उपलब्ध गराउने व्यवस्था गरेका छौँ । के महंगो भन्नु हामीले सहुलियत कर्जा बापत धितो सुरक्षण रहेको सदस्यलाई महिना बिना व्याजको ऋण पनि लगानी गर्ने गरेका छौँ ।
४, यो संस्थाले सदस्यहरुको सहज जीवनयापनमा सहयोग गर्न के कस्ता योजनाहरु संचालन गरिरहेको छ ?
-
यस सहकारी संस्थाले सदस्यको सहज जीवनयापन गर्न माथि उल्लेख भए अनुसार सहुलियत ऋण प्रदान, सदस्यलाई जीवनयापन गर्न सजिलो हुन्छ भनेर गाईभैसी खरिद, बाख्रापालनलगायतका ऋणहरु लामो समयसम्मका लागि लगानी गर्दै आएका छौँ । सिलाइबुनाइ तालिम, अचार बनाउने तालिमलगायतका विभिन्न शीर्षकका तालिमहरु पनि उपलब्ध गराएका छौँ ।
५, एक सदस्य एक सहकारीको नीतिलाई लागू गर्न सकिएला? यसका लागि के कस्ता प्रयासहरु गर्नु भएको छ ?
-
एक सदस्य एक सहकारी नीति पनि हामीले सुरु गरिसकेका छौँ र सोको कार्यान्वयन सञ्चालक समिति र अन्य समितिबाट नै सुरु गराउने व्यवस्था पनि गरिरहेका छौँ । सो लागू गर्न चाहिँ अलि धेरै समय लाग्न सक्छ जस्तो लाग्छ मलाई । सायद गरे नहुने के नै छ र ? हालसम्म त हामीले कति जना सदस्यलाई त एक सदस्य एक सहकारी अभियानमा सहभागी गराइसकेका छौँ । सो कुरा चाहिँ हामीले भन्दा पनि सदस्यलाई मञ्जुर गर्ने जिम्मा दिएका छौँ ।
६, यो महामारीमा सहकारीहरु बन्द छन् । तर तपाईहरुले बन्दमा पनि सेवा दिइरहनु भएको छ? यो कस्तो प्रकारको सेवा हो र कसरी सम्भावना रह्यो?
-
यो महामारीमा सहकारी बन्द गर्ने निर्देशन भएपनि हाम्रा सदस्य महानुभावहरु भोक, रोगबाट पीडित नहुन् भन्नका लागि रात, साँझ, विहान कुनै पनि समय नभनी जुनसुकै बेला पनि राशन, औषधि, उपचार खर्चसम्म पुग्ने रकम उपलब्ध गराउने गरेका छाँै र सो बापत संचालक समितिको अध्यक्ष ज्यू र मसँग सम्पर्क गर्नु पर्ने व्यवस्था मिलाएका छौँ । यदि सदस्य स्वयं अप्ठेरोमा परी नसक्ने भएको खण्डमा घरमा राशन पानी लगिदिने देखि लिएर रकम पनि घरसम्म नै पुर्याउने व्यवस्था गरेका छौँ । हालसम्ममा मसँग सम्पर्कमा आउनु हुने सदस्यज्यूहरुलाई समस्याको समाधान गरिदिएको छु र सोबाट पनि नपुग भए हामीले थप सहयोग पनि गरिरहेका छौँ । यसअन्तर्गत सदस्यको मिसकल मात्र आएपनि कलब्याक गरेर सेवा दिइरहेका छौँ ।
७, बिगतको लकडाउनमा सदस्यले के सुबिधा पाए? र यस पटकको निषेधाज्ञामा के पाउदै छन् ?
-
विगतको लकडाउनमा हाम्रो यस संस्थाका सदस्यज्यूहरुले ऋणको व्याजदर, हर्जना छुट र ऋणको समय अवधि थप जस्ता सुविधाहरु पाउनु भएको थियो भने यस पटक पनि सो लगायत ऋणीहरु छुट साथै वचतकर्ताहरुलाई व्याज परिमार्जित गरी थप व्याजको व्यवस्था गर्ने तयारीतिर लागिरहेका छौँ ।
८, तपाईको लामो समयको अनुभव अनुसार सबै संस्थाहरु बचत तथा ऋण मै सीमित हुनुको कारण के होला? यी बाहेक अरु क्षेत्रमा भविष्य छैन हो ?
-
मेरो अनुभवमा गर्न नसक्ने केहि छैन । तर, भ्रम के छभने निक्षेप जम्मा पारेर कारोबार गर्दा ऋण लगानी मात्र गरेर राम्रो र उत्साहजनक सहकारी देखाउन सहकारी संस्थाहरु तछाडमछाड भएको हुँदा वचत तथा ऋणमा मात्र सिमित रहेका देखिन्छ । सोलाई परिमार्जन गरि सदस्यलाई मल, वीउविजनको व्यवस्था, सहुलियत कृषि ऋण, विभिन्न प्रकारको विषादी, खाद्य सामग्री पनि व्यवस्था गर्नु पर्ने देखिन्छ । अन्य क्षेत्रमा पनि भविष्य छ किन नहुनु ?
९, यस संस्थाको भावी योजना के छ जुन अरुभन्दा फरक र सबैले अपनत्व महशुस गर्ने?
-
यस सहकारी संस्थाको भावी योजना भनेको सदस्यलाई मल, वीउविजनको व्यवस्था, सहुलियत कृषि ऋण, विभिन्न प्रकारको विषादी, खाद्य सामग्री उपलब्ध गराउने तर्फ योजना बनाइरहेका छौँ ।
१०, संस्थाले अनिवार्य सामाजिक उत्तरदायित्वहरुमध्ये कुन कुन काम गरिरहेको छ?
-
यस सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिब, जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान, विभिन्न मठमन्दिर निर्माणमा सहयोग साथै किरिया पुत्री भेटघाट, सुत्केरी आहार वितरण, जन्मोत्सव लगायतका कार्यक्रमहरु गर्ने गरेका छौँ ।
११, सदस्यहरुलाई के सन्देश दिन चाहनु हुन्छ?
-
यस्तो संकटको घडीमा नआत्तिकन घरमा बस्नुहोस् । हामीले यस्तो संकटको अवस्थामा जुनसुकै बेला पनि यस सहकारीको नारा ‘आजको वचत भोलिको नगद, तपाईहरुको साथ पाथिभरा वचत’ भन्ने झैँ तपाईहरुलाई जुनसुकै बेला पनि साथ दिन तयार छौँ र मेरो हालसम्मको भोगाइ सहकारी संस्थालाई बैंक भन्ने प्रचलन छ, सोलाई सुधार गरिदिनु हुन अनुरोध छ । सहकारी भनेका तपाई हाम्रो हो, त्यसैले मलाई सम्पूर्ण सदस्यहरुले सहकारी भनि पुकारेको सुन्न मन लाग्छ, यहि अनुरोध गर्दछु । बाइरोड सम्पादक सुरेन्द्रमान प्रधान सरलाई मुरीमुरी धन्यबाद् व्यक्त गर्न चाहन्छु । जय सहकारी ।
-
6 days ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
2 weeks ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments