ब्ल्लाक फंगस भएका दुइको शल्यक्रिया
कैलालीमा एक जना संक्रमितको मृत्यु
काठमाडौं/२० जेठ
कोरोना भाइरस (कोभिड–१९) संक्रमितमा ब्ल्याक फंगस देखिएपछि त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया गरिएको छ ।
कोभिड–१९ संक्रमणपछि ब्ल्याक फंगस (म्युकरमाइकोसिस) भएका दुइ जनाको १० दिनको अवधिमा शल्यक्रिया सम्पन्न गरिएको अस्पतालको ईएनटी विभागले जनाएको छ । अस्पतालको नाक, कान, घाँटी (ईएनटी) टिमले ४० र ६५ वर्षका व्यक्तिको शल्यक्रिया गरेको हो ।
अस्पतालमा तीनजना ब्लाक फंगस संक्रमित रहेकोमा दुइ जनाको शल्यक्रिया भएको र अर्का एकजनाको पनि शल्यक्रिया गर्ने तयारी रहेको विभागले जनाएको छ ।
हालसम्म नेपालमा १० जना कोभिड संक्रमितमा ब्ल्याक फंगस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यसैबीच, कैलालीमा एक जना ब्ल्याक फंगस (म्यूकरमाइकोसिस) संक्रमितको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको बर्दगोरिया ६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सूचना अधिकारी श्रेष्ठका अनुसार जेठ १७ गते देखि अस्पतालमा उपचाररत उनको बिहिबार बिहन ७ बजे मृत्यु भएको हो।

Comments