आफू त संक्रमित भइयो, अरुलाई जोगाऔ
स्वास्थ्य क्षेत्रमा केही गर्ने बेला आएको छ
अहिले नेपाली समाज कोभिड-१९ कोरोना भाइरसको दोस्रो भेरिएन्टबाट आक्रान्त छ । हरेक दिन हजारौंको संख्यामा संक्रमितहरु बढिरहेका छन् भने सयौंको मृत्यु हुने गरेको छ । गत वर्ष ७५ जनामा मात्र संक्रमण देखिएको थाहानगरमा यस पटक ५ हप्ता मै साँढे ५ सय जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ । तर अझै पनि समाजमा जोखिम कायम नै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यक वस्तु विक्रीका लागि विहान ४ बजेदेखखि ९ बजेसम्म मात्र पसल खोल्न पाउने गरि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । तर कोरोना हाउगुजी मात्र हो भन्नेहरु पनि छन् । आजको अङ्कमा हामी तपाईलाई कोरोना संक्रमणबाट झन्डै ४० दिनसम्म होम आइसोलेसनमा बस्नु भै १९ जेठबाट मात्र संक्रमण मुक्त हुनु भएका थाहा ६ बज्रबाराहीका जोसिला युवा प्रमोद जोशीसङ्ग कोरोना अनुभवका बारेमा बाइरोड सम्पादक सुरेन्द्रमान प्रधानले गर्नु भएको कुराकानी जस्ताको तस्तै ।
१, तपाईंमा कसरी कहाँबाट संक्रमण देखियो ? तपाईलाई कोरोना संक्रमण देख्नु भन्दा अघिसम्म कोरोना सम्बन्धी धारणा कस्तो थियो?
○धन्यबाद, सुरेद्र जी, मेरो श्रीमतीलाई ज्वरो आएकोले बैशाख १२ गते पालुङ स्वास्थ्य केन्द्रमा जचाउन गयौं । उनको कोरोना भाईरस पोजेटिभ देखेपछि कन्ट्याक ट्रेसिङअनुसार मेरो पनि पोजेटिभ देखियो।
२, कोरोना पोजेटिभ हुँदा तपाइमा के के देखियो? के के भोग्नु भयो?
○संक्रमित हुनु अघि यो साधारण रुघाखोकी जस्तै हो भन्ने लाग्थ्यो । तर दोस्रो भेरियन्ट निकै नै डरलाग्दो रहेछ । किनकी यसले धेरैजनाको प्राण गईसकेको छ। सेवा सुविधाहरु राम्रो भएको अस्पतालहरुमा समेत धेरैले ज्यान गुमाउनु भएको छ भने हामी कहाँ त स्वास्थ्य केन्द्र र चौकि मात्र छन् । बिश्वमा नै औषधि नभएको रोगको बिरामी हुनुको पीडा कल्पना नै गर्न सकिन्न।
३, हरेक दिन जस्तो खाली हात एकै ठाउँमा बस्ने बानी नभएको तपाई यत्तिका दिन कसरी होम आइसोलेसन बस्नुभयो ?
○म त संक्रमित भएँ नै मबाट अरु संक्रमित नहोस् भन्नको लागि होम आइसोलेसनमा बसियो। पोजेटिभ हुँदा सुरुको ५ दिनसम्म सामान्य नै थियो ।छैठो दिनदेखि ज्वरो १०२° खोकी आउन थाल्यो । जिउ दुख्ने, खाना खान मन नलाग्ने स्वाद हराउने, गन्ध नआउने वान्ता हुनेसाथै श्वासप्रश्वासमा निकै समस्या भयो । मेरो शरीरमा अक्सिजनको मात्रा ८४ सम्म भयो । मित्र राजिव स्याङ्तान जीले प्राकृतिक रुपले शरीरमा अक्सिजन बढाउने बिधि (प्रोन भेन्टिलेसन) को लिङ्क पठाई दिनु भयो । मैले सोहि बिधिबाट शरीरको लागि अक्सिजन बढाउने काम गरेँ । यो बिधिबाट ९२ सम्म पुग्यो ।
४, अन्य संक्रमितहरुलाई कसरी हौसला दिनुहुन्छ? अथवा कोरोनाबाट निको हुने उपायहरु के के हुन् ?
○संक्रमित भइसकेपछि चिकित्सकको निर्देशन पालना गरी औषधिलगायत पोषिलो खानेकुरा खायौं । बेसार, जिरा, ज्वानो पानी नियमित रुपमा पिउने। कागती मह पानी पिउने । फलफूल खाने गरौँ । म निको हुन्छु भन्ने सोच्ने ।
५, अहिलेको निषेधाज्ञाबाट संक्रमण न्यूनिकरणमा कत्तिको सहयोगी भूमिका निर्वाह गर्छ होला?
○निषेधाज्ञाले धेरै हदसम्म समुदायमा संक्रमण न्यूनिकरण त गर्छ तर घर परिवारमा संक्रमित हुने डर छ।
६, स्वस्थ्य मानिसका लागि तपाईको सुझाव के छ?
○बिना काममा घर बाहिर नजाअौँ । जानै पर्ने भएमा मास्क प्रयोग गरी भौतिक दुरी कायम गरौँ ।
७, अरु केही भन्नू छ?
○स्वास्थ्य क्षेत्रमा हाम्रो लागि यो रोग चुनौती मात्र नभई अवसर पनि हो भन्ने लाग्दछ। स्वास्थ्य क्षेत्रमा सुधार गर्न सकिने बेला हो । किनकि अहिले समस्या छ ।
समस्याको समाधानको उपायहरु अबलम्बन गरी स्वास्थ्य क्षेत्रमा सुधार गरौं । राज्यको कार्यक्रम हुँदै गर्लान् । नागरिक स्तरबाट गर्न सकिने कामको शुरुवात गर्न गालौँ । ढिला नगरौँ । तेस्रो भेरियन्ट देखा परिसक्यो र यसको लागि पूर्वतयारीको बेला भै सक्यो जस्तो लाग्छ।
Comments