Byroad News

Loading...

बैंकिङ क्षेत्रमा उदाउँदै "सिन्धु विकास बैंक"


बैंकिङ क्षेत्रमा उदाउँदै "सिन्धु विकास बैंक"

बेमौसमी तरकारी भण्डारको क्षेत्रले परिचित थाहा नगरपालिकामा स्थापनाको छोटो अवधिमा ग्राहक माझ लोकप्रिय बन्दै गएको छ, सिन्धु विकास बैंक । यो अङ्कमा हामीले बैंकको समग्र अवस्था र थाहा नगरपालिकामा दिइरहेको सेवामा केन्द्रीत रहेर पालुङ शाखा स्थापनादेखि नै पालुङमा रहदै आउनु भएका मेनेजर आशिष बानिया क्षेत्रीसङ्ग बाइरोडकर्मी सुरेन्द्रमान प्रधानले गर्नु भएको कुराकानी । 

○सिन्धु विकास बैंकको छोटो परिचय दिनुहोस् न ।

- सिन्धु विकास बैंक सिन्धुपाल्चोक जिल्लामा मूख्य कार्यालय रहने गरि खुलेको पहिलो विकास बैंक हो । यो बैंक वि.स. २०६७ भदौ २४ गते स्थापना भएको हो । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको क्रियाशीलताले यो बैंक स्थापना भएको हो । बैंकका विभिन्न जिल्लाहरुमा २३ वटा शाखाहरु र २ वटा विस्तारित काउन्टरहरु समेत गरि २५ ठाउँहरुमा छन् । यस बैंकमा सेप्टेम्बर २०२० सम्म ९७ हजार २ सय ७६ जना ग्राहकको नियमित कारोवार र पहूँच छ । बैंकका सबै शाखाहरुले प्रभावकारी रुपले ग्राहकको व्यक्तिगत र सिङ्गो मूलुकको हीतमा आफ्ना कार्यक्रमहरु महत्वका साथ संचालन गरिरहेको छ । बैंकले विभिन्न प्रकारका सेवाहरु संचालन गरिरहेको छ । जस्तै: बचत, कर्जा, रेमिटेन्स लगायतका बैंकिङ कारोवारहरु संचालन गरिरहेको छ । हामी ग्राहकको मागमा आधारित रहेर अग्रणी ग्राहकहरुको पहिचान गर्दै नयाँ व्यवसाय तथा व्यवसायी लक्षित गर्दै न्यूनभन्दा पनि न्यून आर्थिक अवस्थाका ग्राहक लक्षित योजनाहरु संचालन गरिदै आएको बैंक हो । जहाँ ग्राहकले हामीलाई सजिलै भेटाउन सक्छन् । पालुङ शाखा चाहिँ यो बैंकको १९ औं शाखा हो जुन २०७६ असार २७ गते स्थापित भयो ।

○सिन्धु विकास बैंक र अन्य बैंकहरुमा के भिन्नता छ?

- मलाई लाग्छ हामी सबै क, ख, ग र घ श्रेणीका मान्यता प्राप्त बैंकहरु हौं । यसमा कुनै फरक छैन मात्र वर्गीकरणमा, चुक्ता पूँजिमा र व्याजदरमा फरक देख्छु । अरु त सबै नेपाल राष्ट्र बैंकको नीति, निर्देशनमा रहेर योजनाहरु तथा कार्यक्रमहरु निर्माण गरिएको हुन्छ । हरेक मानिसको फरक फरक भिन्नता भए जस्तै बैंकहरुको पनि भिन्नता हुने त निश्चित नै हो । अब पालुङ शाखाको कुरा गर्दा व्यक्तित्व र योजनाहरुका आधारमा विभिन्न सुबिधाहरु सहित लगानी गर्छौं । यहाँ अस्वस्थ प्रतिस्पर्धामा गलत लगानी समेत हुने गरेको छ, तर हामी हरेक ग्राहकलाई बैंकको एउटा परिवारका सदस्यको रुपमा लिएर उसको हरेक पाइलामा सहयोगी भूमिका निर्वाह गरेर कारोवार गर्छौं । त्यसैले हाम्रो नारा नै छ नि "सधैं.... हामी सङ्गसङ्गै"

○थाहा नगरपालिका कृषि र पर्यटकीय नगर हो, यो क्षेत्रमा बैकको लगानी कस्तो छ?

- हुन त थाहा नगरपालिका कृषि र पर्यटकीय क्षेत्र हो तर मैले यहाँको बैंकहरुले धेरै जसो व्यापार, व्यक्तिगत र सवारी साधनमा लगानी गरिरहेको पाएको छु, त्यसो त हाम्रो बैंकले पनि यिनै क्षेत्रमा लगानी गरिरहेको छ । यहाँ धेरै जसो कृषि पेसामा संलग्न भए पनि सरकारी दर्ता प्रक्रिया, करलगायतको व्यवस्थालाई झन्झटिलो मानेर बिना योजना काम गरिरहेको देखिन्छ । त्यही भएर व्यवसायिक कृषिकर्म गर्नेको संख्या थोरै हुनुले चाहेर पनि कृषिमा ठूलो लगानी गर्न सकिरहेको छैन । उसो त ठूलो लगानी खोज्ने ग्राहकहरु हेटौंडा वा काठमाडौंका बैंकहरु धाउने गरेको पाएको छु । पर्यटनको क्षेत्रमा लगानी गर्न ट्राभल एण्ड टुरिजमहरुको स्थापना हुन जरुरी छ, जसको माध्यमले हामीले लगानी गर्न सक्छौं । त्यसैले हाम्रो यो शाखाले हालसम्म मिश्रित रुपले लगानी गरेका छौँ । हालसम्म कृषिमा ५ करोड र अन्य क्षेत्रमा ५ करोड लगानी गरेका छौँ । अब होटल, होमस्टेहरुको क्षेत्रमा समेत राम्रो लगानी गर्ने योजनामा छौँ ।

○युवा लक्षित कार्यक्रमहरु के के छन् ? यसमा व्याजदर कस्तो छ?

- युवा लक्षित कार्यक्रमको कुरा गर्दा राष्ट्र बैंकको निर्देशन अनुसार नयाँ व्यवसाय/व्यवसायीलाई अन्य बैंकमा जस्तो कारोवारको एक वर्ष हुनु पर्ने बाध्यकारी व्यवस्था छैन । भर्खरै खुल्दै गरेको वा खुलिसकेको व्यवसायलाई उसको व्यवसायिक हैसियत अनुसार धितो मूल्याङ्कनको आधारमा व्यवसाय विस्तार गर्न सरल कर्जा लगानी गरिरहेका छौँ । यहाँ धेरैजसो युवाहरुको आकर्षण सवारीमा रहेको हुँदा सवारीमा लगानी गरेर युवाहरुको आर्थिक हैसियतमा वृद्धि गराउन मद्दत गरेका छौँ ।अरुभन्दा पनि हामीले भर्खरै व्यवसायिक कृषिकर्म गरिरहेका युवाहरुलाई पञ्चवर्षिय योजनामा समेत लगानी गरेर व्यवसायिक कृषिमा सहयोगी भूमिका निर्वाह गरिरहेका छौँ । यो पालुङ शाखा यहाँका हरेक नागरिकसङ्ग जोडेर आफ्नो कारोवार बढाउने योजनामा छ । अहिले हाम्रोमा अधिकतम व्याजदर १०.७५ प्रतिशत छ । व्याज दर घटबढ हुँदा त्यहि अनुसार नै हुन्छ । 

○सरकारले दिएका सुबिधासहितका व्याज छुट कर्जाहरु कुन कुन शीर्षकमा लगानी छ?

- सरकारले तोकेको सहुलियत कर्जा अन्तर्गत अहिलेसम्म हामीले महिला उद्यमशील कर्जा धेरै लगानी गरेका छौँ । यो शीर्षकमा अधिकतम १० लाख रुपियाँसम्म लगानी गरेका छौँ । यो शीर्षकमा ५ देखि ६ प्रतिशत व्याजदर रहेको छ, यो बहेक अब सहुलियत कृषि कर्जा, विदेशबाट फर्केर उद्यमशील हुन चाहेका युवा स्वरोजगार लक्षित कर्जा, दलित वर्गको पेसा परिवर्तन लक्षित, महिला उद्यमशील, भूकम्पपछिको आवास निर्माण, कपडा उद्योग, उच्च शैक्षिक प्राविधिक कर्जा लगायतका कार्यक्रमहरु छन् । शीर्षक अनुसार प्रत्येक शीर्षकमा ३ लाखदेखि १० लाखसम्म लगानी गर्न पाउने प्रावधान छ, हामी त्यही अनुसार गरिरहेका छौँ ।

○कर्जाको लागि प्रकृया कत्तिको झन्झटिलो छ?

- सिन्धु विकास बैंकमा कर्जाका लागि कागजपत्र तयार पार्न सार्है गार्हो छ भनेर पनि सुन्नु भएको होला, तर हामीले राष्ट्र बैंकको निर्देशन बमोजिम कै कागजपत्र माग्ने गरेका छौँ । हामीले लगानी गर्ने योजनालाई आवश्यक पर्ने कागजातहरुको सुचि तयार गरेर ग्राहकलाई दिन्छौं । त्यही अनुसार ग्राहकले कागजातहरु तयार पार्नु हुन्छ, जस्तै: आम्दानी सिफारिस वडा वा नगरपालिकाबाट, घरबाटो सिफारिस, कृषिमा कर छुट अनि अरु त आफ्नो पेसा र व्यवसाय अनुसारका कागजातहरु र आवश्यकता अनुसार साख: सूचना हुन सक्छ । अरु त बैंकले भर्ने फारमहरु भए । ग्राहकले कागजातहरु जम्मा पार्न कति समय लगाउँछन्, त्यही अनुसार समय लाग्ने हो । 

○अब बचत योजनाहरु बारे स्पष्ट पारिदिनुस् न ।

- यो बैंकले विगतमा बचतलाई भन्दा पनि कर्जा लगानीमा धेरै प्राथमिकता दिएको थियो । अब चाहिँ हामी संस्थागत र व्यक्तिगत निक्षेपमा जोड दिइरहेका छौँ । हुन त थाहानगरमा सहकारी पछि सबैभन्दा आकर्षक व्याज दिने बैंक भनेको सिन्धु विकास बैंक नै हो । हामीले बचतमा ५.५ प्रतिशतदेखि मुद्दती बचतमा ९.७५ प्रतिशतसम्म व्याज दिने गरेका छौँ । त्यही भएर यो वर्ष हामीले बचत तथा निक्षेप अभियानहरुलाई प्राथमिकता दिइरहेका छौँ । साथै संस्थागत खातामा २.२५ प्रतिशत व्याज दिइरहेका छौँ ।

○अब अन्त्यमा बैंकको अन्य कुनै कार्यक्रम छ? 

- हामीले यो स्थापनाको छोटो अवधिमा ग्राहकहरुको न्यानो माया पाएका छौँ । निकट भविष्यमा यहाँको उद्योग वाणिज्य संघसङ्ग सहकार्य गरेर व्यापारिक साक्षार कार्यक्रमहरु संचालन गरेर राष्ट्र बैंकको योजना र निर्देशन अनुसार क्यासलेस बैंकिङ कार्यक्रमहरु जस्तै एमओ बैंक, क्यु आर कोड, पि ओ एस जस्ता योजनाहरुलाई समुदायस्तरमा ज्ञान दिने र नगरपालिकालगायतका निकायहरुसङ्ग सहकार्य गरेर विभिन्न क्रियाकलापहरु गर्ने योजना छ । धन्यबाद ।

Comments

KATHMANDU WEATHER