Byroad News

Loading...

थाहानगरको पहिलो कार्यपालिका बैठकबाट विषयगत जिम्मेवारी बाँडफाँड, नयाँ ट्रयाक तथा ग्राबेल नगर्ने निर्णय


थाहानगरको पहिलो कार्यपालिका बैठकबाट विषयगत जिम्मेवारी बाँडफाँड, नयाँ ट्रयाक तथा ग्राबेल नगर्ने निर्णय

थाहानगर/१७ जेठ
स्थानीय तह सदस्य निर्वाचन २०७९ पछि थाहा नगरपालिकाको कार्यपालिकाको बैठक आज १७ जेठमा सम्पन्न भएको छ ।

बैठकले विभिन्न विषयगत समितिहरु गठन गरेको छ । बैठकले आर्थिक विकास समिति संयोजक हेरमान गोपाली, पुर्वाधार विकास समिति संयोजक शिवराज थिङ, सामाजिक विकास समिति संयोजक दिनेश बल, सुशासन तथा संस्थागत विकास समिति विष्णु बहादुर गुरुङ, वन, वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक हिरेन्द्र रायमाझी, खेलकुद विकास समिति श्री टिकाराम स्याङ्तान चुनिएका छन् ।

विधायन समिति, राजश्व परामर्श समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति, अनुगमन तथा सुपरिवेक्षण समिति, न्यायिक समितिको संयोजकको जिम्मेवारी उपप्रमुख स्वयं हुने व्यवस्था अनुसार भरत गोपालीले सम्हाल्ने प्रस्ताव अनुमोदन गरेको छ । यसैगरी हेभी इक्युपमेन्ट परिचालन समितिको संयोजकको जिम्मेवारी पनि उपप्रमुख गोपालीले पाएका छन् ।

स्रोत निधारण तथा बजेट सीमा निर्धारण समिति संयोजकमा नगर प्रमुख विष्णु बहादुर विष्ट स्वयं हुने व्यवस्था छ । यसैगरी नगर शिक्षा समिति संयोजक नगर प्रमुख बिष्णु बहादुर विष्ट स्वयं रहने व्यवस्था छ ।

यसैगरी बैठकले योजना महाशाखाअन्तर्गत थाहा नगरपालिकाको ११ औं नगरसभा असार १० गते गर्ने निर्णय गर्दै जेठ २७ गते सबै वडा भेलाहरु सम्पन्न गरि योजना छनौट गर्ने निर्णय गरेको छ । बैठकले वडा नम्बर १, २, ३, ६ र १० लाई १/१ करोड, ४ र ५ लाई १ करोड १० लाखको दरले र ७, ८, ११ र १२ का लागि १ करोड २० लाखको दरले बजेट सिलिङ तोकेको छ । 

आगामी आ.व. २०७९/०८० मा ग्राभेल तथा नयाँ कटिङ नगर्ने,  वडाहरुले योजना तर्जुमा गर्दा कम्तिमा ४० लाखको एउटा योजना अनिवार्य र ७ लाख भन्दा तलको बजेटको योजना छनोट नगर्ने,  संयुक्त योजना तर्जुमा नगर्ने निर्णय समेत गरेको छ । 

Comments

KATHMANDU WEATHER