Byroad News

Loading...

अष्ट्रेलियामा भेटियो ओमिक्रोन भेरियन्ट, भारतले उच्च सतर्कता अपनाउने


अष्ट्रेलियामा भेटियो ओमिक्रोन भेरियन्ट, भारतले उच्च सतर्कता अपनाउने

काठमाडौं/१२ मङ्सिर 
अष्ट्रेलियामा कोरोना भाइरसका नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ । अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका हुन् ।

पूर्वी राज्य न्यू साउथ वेल्सको स्वास्थ्य प्राधिकरणले शीघ्र जीनोमिक परीक्षण उक्त सङ्क्रमण भेटिएको जनाएका छन् ।

यसैबीच, कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन भारतमा भित्रिन नदिन भारत सरकारले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।

दक्षिण अफ्रिकामा कोरोना कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि भारत सरकारले सबै राज्यमा उच्च सतर्कता अपनाउने निर्णय गरेको भारतीय सञ्‍चारमाध्‍यमले उल्लेख गरेका छन् ।

भारतको केन्द्र सरकारले सबै राज्यलाई नियन्त्रणका लागि व्यापक कदम चाल्न र खोप अभियानलाई थप तीब्रता दिन भनेको छ ।

‘चिन्ताको विषय बनेको यो भेरियन्टको प्रभावकारी व्यवस्थापनका लागि व्यापक नियन्त्रण, निगरानी, खोप लगाउने कार्यमा वृद्धि र कोभिडसम्बन्धी उपयुक्त व्यवहारलाई सक्रियताका साथ लागू गर्न आवश्यक देखिन्छ’, आइतबार भारतको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर उच्च सतकर्ता अपनाउन भनिएको छ ।

मन्त्रालयको विज्ञप्तिमा थप भनिएको छ, ‘उत्परिवर्तित भएको यो भाइरसबाट हुने कुनै पनि संक्रमणसँग जुध्न पर्याप्त परीक्षण गर्नुपर्छ । केही राज्यमा आरटी-पीसीआर परीक्षणसहित समग्र परीक्षणको मात्रा घटिरहेको अवस्था छ । पर्याप्त परीक्षणको अभावमा संक्रमण के कति फैलिएको भनेर निर्धारण गर्न निकै कठिन हुन्छ ।’

राज्य सरकारले सुरुमै पहिचान गर्न सकियोस् भनेर परीक्षण बढाउँदै आरटी तथा पीसीआरआर परीक्षणको मात्रा वृद्धि गर्नुपर्ने र संक्रमण दर ५ प्रतिशतभन्दा तल हुने गरी कदम चाल्नु पर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै बेलैमा संक्रमितको उपचार होस् भनेर राज्यभर पर्याप्त स्वास्थ्य सेवा उपलब्ध हुनुपर्ने र सरकारले दिएको आर्थिक सहयोगलाई अधिकतम प्रयोग गर्न पनि स्वास्थ्य मन्त्रालयले सबै राज्य सरकारलाई अनुरोध गरेको छ ।

भारतले ओमिक्रोन भेरियन्ट पत्ता लागेका मुलुकलाई जोखिमपूर्ण क्षेत्रमा राख्दै ती मुलुकबाट आउने यात्रुहरूलाई विमानस्थलमै स्क्रिनिङ र परीक्षण गर्ने बताइसकेको छ ।

Comments

KATHMANDU WEATHER