Byroad News

Loading...

मउवा संघ चुनावमा मोबाइल निषेध, परिचयपत्र अनिवार्य


मउवा संघ चुनावमा मोबाइल निषेध, परिचयपत्र अनिवार्य

हेटौंडा/८ कात्तिक
मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा मोबाइल निषेध गरिएको छ । चुनावमा मतदानका लागि सहभागी हुनेले मोबाइल लैजान नपाइने निर्णय गरिएको हो । यस्तै मतदातालाई परिचयपत्र अनिवार्य गरिएको छ ।

परिचय खुल्ने नागरिकता, लाइसेन्स, निर्वाचन आयोगले उपलब्ध गराएको परिचयपत्र वा संघको कार्ड अनिवार्य रहेको निर्वाचन अधिकृत ईश्वरराज ढकालले जानकारी दिनुभयो ।

बिहान ९ देखि ४ बजेसम्म मतदान गर्न सकिनेछ । कोरोनाको कारण एउटा लाइनमा २० जना भन्दा बढी नराख्ने गरी तयारी गरिएको जनाएको छ । 

कोरोनाको जोखिम कायमै रहेकोले स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गर्न निर्वाचन अधिकृत ढकालले मतदाताहरुलाई अनुरोध गर्नु भएको छ ।

अध्यक्षको लागि छुट्टै मतपत्र र सम्बन्धित क्षेत्रको मतदाताको लागि छुट्टै मतपत्रको व्यवस्था गरिएको छ । सम्बन्धित क्षेत्रको मतदाताले आफ्नो क्षेत्रको उपाध्यक्ष र कार्यसमिति सदस्य तथा अध्यक्षलाई मतदान गर्न पाउनेछन् ।

मकवानपुर उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि एशोसियटतर्फको बहुराष्ट्रिय क्षेत्रको सदस्य पदमा भने निर्विरोध भएको छ । सीएसआई नेपाल प्रा.लिका शान्तिराम धिमालको मात्र उम्मेदवारी परेपछि एशोसियटतर्फको बहुराष्ट्रिय क्षेत्रको सदस्य पदमा उहाँ निर्विरोध हुनु भएको हो । 

यसअघिको कार्यसमितिमा समेत रहँदै आएका धिमाल यसपटक निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत ईश्वरराज ढकालले जानकारी दिनुभयो । 

Comments

KATHMANDU WEATHER