Byroad News

Loading...

आजदेखि टी-२० विश्वकप


आजदेखि टी-२० विश्वकप

काठमाडौं/३१ असोज
आजदेखि टी-२० विश्वकप २०२१ सुरु हुँदैछ।

आगामी १४ नोभेम्बरसम्म युएई र ओमानमा हुने विश्वकपमा आजदेखि पहिलो चरणका खेल हुन लागेका हुन्। 

पहिलो चरणको खेलअन्तर्गत आज पहिलो खेल ओमान र पपुवा न्युगिनीबीच हुँदैछ। ओमानको अल अमरेत रंगशालामा हुने खेल दिउँसो पौने चार बजे सुरू हुनेछ।

आजै बंगलादेश र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। राति पौने आठ बजे सुरु हुने यो खेल पनि अल अमरेतमै हुनेछ।

टी-२० विश्वकप २०२१ मा सहभागी १६ टिमले दुई चरणमा प्रतिस्पर्धा गर्नेछन्। 

जसमा आठ टिमले पहिलो चरणमा प्रतिस्पर्धा गर्दा आठ टिम सिधैं सुपर-१२ मा पुगेका छन्।  

सुपर-१२ मा बाँकी चार टिम पहिलो चरणबाट छनोट हुनेछन्।

‍पहिलो चरणमा दुई समूहमा प्रतिस्पर्धा हुनेछ। समूह विजेता र उपविजेता गरी चार टिम सुपर-१२ मा पुग्नेछन्।

पहिलो चरणबाट चार टिम सुपर-१२ पुगेपछि २३ अक्टोबरबाट दोस्रो चरणको खेल हुनेछ।

जसमा अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा इंग्ल्यान्ड र वेस्ट इन्डिज पहिलो दिन भिड्नेछन्। 

२४ अक्टोबरमा भारत र पाकिस्तानबीच खेल हुनेछ।

सुपर-१२ को समूह विभाजनमा भारत र पाकिस्तान एउटै समूहमा छन्। भारत र पाकिस्तानसँगै न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए उपविजेता र समूह बी विजेताले समूह-२ मा प्रतिस्पर्धा गर्नेछन्। 

समूह-१ मा इंग्ल्यान्ड,  अस्ट्रेलिया,  दक्षिण अफ्रिका,  वेस्ट इन्डिज,  समूह ए विजेता र समूह बी उपविजेताबीच खेल हुनेछ।

प्रतियोगिताका खेल दुबई अन्तर्राष्ट्रिय रंगशाला, अबुधावीको शेख जायेद रंगशाला, शारजाह रंगशाला र ओमान क्रिकेट एकेडेमी मैदानमा हुनेछन्।

प्रतियोगिताको सेमिफाइनल १० र ११ नोभेम्बरमा हुनेछ भने फाइनल खेल १४ नोभेम्बरमा दुबईमा हुनेछ।

पहिलो चरण
समूह ए :  श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया 
समूह बी :  बंगलादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान 

सुपर-१२
समूह १ :  इंग्ल्यान्ड,  अस्ट्रेलिया,  दक्षिण अफ्रिका,  वेस्ट इन्डिज,  समूह ए विजेता, समूह बी उपविजेता
समूह २ :  भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए उपविजेता, समूह बी विजेता

Comments

KATHMANDU WEATHER