Byroad News

Loading...

अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा एक हप्ताका लागि लकडाउन थपियो


अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा एक हप्ताका लागि लकडाउन थपियो

एजेन्सी/२३ असार
कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा लकडाउनको अवधिलाई एक हप्ता थपेर जुलाई १६ सम्म सारिएको छ।

न्यूसाउथवेल्स राज्यकी प्रिमियर ग्लेडिज बेरिजिक्लिनले आज लकडाउनको अवधि थप गरिएको घोषणा गर्दै अत्यन्तै सङ्क्रामक डेल्टा भेरिएन्टका कारणले लकडाउनको अवधिलाई बढाउनु परेको जानकारी दिनु भएको छ ।  

राज्यमा गत २४ घण्टामा २७ वटा नयाँ कोरोना सङ्क्रमण देखिएको बताउनु हुँदै प्रिमियरले तीमध्ये जम्मा १३ जना मात्र पोजिटिभ रहेका दौरानमा आइसोलेसनमा रहेको बताउनु भयो ।

‘डेल्टा भेरिएन्ट हामीले थाहा पाएका भेरिएन्टभन्दा छिटो फैलने र सर्ने भेरिएन्ट हो। हामी सधैँ लकडाउन गर्ने र नगर्ने अवस्थामा नरहनका लागि न्यूसाउथवेल्स सरकारले यो स्थान लिएको हो’, लकडाउन थप्ने निर्णयबारे बोल्दै उहाँले भन्नु भएको छ । 

राज्यका कोरोना सङ्क्रमणको उच्च जोखिम रहेका क्षेत्रहरू फेयरफिल्ड, क्यान्टरबरी–बेङ्सटाउन, र लिभरपुलका वासिन्दालाई सचेत गराउँदै प्रिमियर बेरिजिक्लिनले अत्यन्तै जरुरीबाहेक अन्य कामका लागि घरबाट बाहिर ननिस्कनका लागि आग्रह समेत गर्नु भएको छ । 

‘मैले लकडाउन सुरू भएयता आफ्ना आमाबाबुलाई समेत भेटेकी छैन। यो एकदमै गाह्रो हुन्छ’, उहाँले भन्नुभयो । 

न्यूसाउथवेल्स राज्यमा गत २४ घण्टामा ४५ हजार कोरोना परीक्षण गरिएको थियो भने यो सङ्ख्या मंगलबार ३२ हजार रहेको थियो।

गत जुन १६ तारिखमा एक लिमोजिन चालकलाई कोरोना पोजेटिभ भेटिएपछि हालसम्म न्यूसाउथवेल्स राज्यमा ३ सय ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ।

Comments

KATHMANDU WEATHER