काठमाडौं/१४ असार
आइतबारबाट सुधारोन्मुख बनेको शेयर बजार सोमबार पनि उकालो लागेको छ। गत हप्ता तीव्र उतारचढाव आएको शेयर बजारले यो हप्ता विस्तारै लय लिने संकेत देखाएको छ।
आइतबार २७ अंकले बढेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ५ अंकले वृद्धि भएको छ। यससँगै नेप्से सूचक २८७५ विन्दुमा उक्लिएको छ। सोमबार कारोबार रकम पनि करिब पौने आठ अर्ब पुगेको छ।
सोमबार पाँचवटा उपसमूह हरियो भएपनि अधिकांश उपसमूह रातो भएका छन्। लघुवित्त समूह १११ अंकले बढ्दा होटल तथा पर्यटन २० अंकले बढेको छ। विकास बैंक सर्वाधिक ७० अंकले घट्यो भने जलविद्युत समूह (६५ अंक) र फाइनान्स समूह (५६ अंक) पनि घटेको छ।
आज कारोबार भएकामध्ये सर्वाधिक मूल्य बढ्ने कम्पनीमा अधिकांश लघुवित्त कम्पनीहरु अघि देखिएका छन्। सबैभन्दा धेरै शेयर मूल्य बढ्ने १० कम्पनीमध्ये आठवटा लघुवित्त नै रहेका छन्।
जसमा सबैको लघुवित्त र सिभिल लघुवित्तको सेयर मूल्य ८/८ प्रतिशतले बढ्दा सामुदायिक, मिथिला र आशा लघुवित्तको पनि ४/४ प्रतिशतसम्मले बढेको छ। अर्कोतर्फ, शेयर मूल्य सर्वाधिक घट्ने कम्पनीमा भने फाइनान्स र जलविद्युत समूहका कम्पनी बराबर छन्।
बेष्ट, रिलायन्स र आइसिएफसी फाइनान्सको शेयर मूल्य चारदेखि पाँच प्रतिशतले घट्दा राधि र पञ्चकन्या माइ हाइड्रोपावरको शेयर मूल्य पनि चार/चार प्रतिशतले नै घटेको छ।
माथिल्लो तामाकोशीको सर्वाधिक रकम (करिब ६७ करोड रुपियाँ) को शेयर किनबेच हुँदा नेपाल इन्स्योरेन्स र राधि विद्युतको ५२/५२ करोड, एनआइसी एसियाको ५० करोड र सेन्चुरी कमर्सियल बैंकको २८ करोड रुपियाँको शेयर किनबेच भएको छ।
आज २१९ कम्पनीको एक करोड ९२ लाख कित्ता धितोपत्र कारोबार भए। समग्रमा कुल सात अर्ब ७२ करोड रुपियाँको धितोपत्र किनबेच हुँदा ८० कम्पनीका लगानीकर्ताहरुले मात्र कमाए। सात कम्पनीको शेयर मूल्य स्थिर रह्यो भने बाँकी सबैको घटेको छ।
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments