Byroad News

Loading...

छिमेकी ग्रह आगोको गोला कसरी बन्यो, अब पत्ता लगाउने


छिमेकी ग्रह आगोको गोला कसरी बन्यो, अब पत्ता लगाउने

छिमेकी ग्रह आगोको गोला कसरी बन्यो, अब पत्ता लगाउने
बीबीसी/२० जेठ 
अमेरिकी अन्तरिक्ष निकाय नासाले यो दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे जान्न दुइवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने जनाएको छ।

सँगैको पृथ्वी जीवन्त भए पनि उसको सबैभन्दा नजिकको छिमेकी ग्रह किन आगोको गोला बन्यो भनेर जान्ने नासाले लक्ष्य लिएको छ।
○दुईवटा मिसन
शुक्रग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने उद्देश्यका साथ दुइवटा मिसन त्यहाँ पठाउने नासाले घोषणा गरेको छ।

ती मिसनहरू प्रत्येकका निम्ति ५० करोड डलर बजेट प्राप्त हुनेछन्।

सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन हुनेछन्।

नासाका प्रशासक बिल नेल्सनका अनुसार ती मिसनहरूले वैज्ञानिक समुदायलाई ३० वर्षदेखि यता पहिलो पटक उक्त ग्रह अनुसन्धान गर्ने मौका दिनेछ।

यसअघि नासाले शुक्र ग्रहनजिक म्याजेलन मिसन सन् १९९० ताका पठाएको थियो।

त्यसपछि उक्त ग्रहको नजिक भएर अन्य यानहरूले यात्रा भने गरेका छन्।

○सीसापनि पग्लने सतह
नासाले दुइ मिसनका प्रस्तावहरू वैज्ञानिकहरूबाटै समीक्षा गराएर तथा तिनको वैज्ञानिक महत्व तथा विकास योजनाको सम्भाव्यताको आधारमा छानेको बताएको छ।

‘यी दुइ मिसनहरूले शुक्रग्रह कसरी आगोको गोलाजस्तो संसार बन्न पुग्यो जहाँको सतहमै पनि सिसासमेत पग्लन्छ भनेर जान्न खोज्नेछन्,’ प्रशासक नेल्सनले बताइनु भयो ।

सूर्यभन्दा दोस्रो स्थानमा रहेको शुक्रग्रह सौर्यमण्डलकै सबभन्दा तातो ग्रह हो।

त्यहाँको सतहको तापक्रम ५०० डिग्री सेल्सियस रहेको छ।

○मिसनका विशेषता
डाभिन्ची प्लस नामक पहिलो मिसनले सो ग्रह कसरी बनेको र विकसित भएको भनेर हेर्नेछ।

उसले शुक्रग्रहमा कुनै समय महासागर थियो कि थिएन भनेर पनि बुझ्न खोज्नेछ।

दोस्रो मिसन भेरिटासले शुक्रग्रहको सतहको नक्साङ्कन गरेर त्यसको भौगोलिक इतिहास जान्नेछ अनि किन पृथ्वीभन्दा एकदमै भिन्न तरिकाले शुक्रग्रहको विकासक्रम अघि बढ्यो भनेर पनि उसले जान्न खोज्नेछ।

रेडारको प्रयोग गरेर त्यहाँ अझै ज्वालामुखी विस्फोट तथा भूकम्प भइरहन्छन् कि भनेर पनि हेरिनेछ। 

Comments

KATHMANDU WEATHER