सूचना... सूचना.... सूचना....
माइकिङ गर्दै वडाध्यक्ष टोलटोलमा
सुरेन्द्रमान प्रधान/थाहानगर/१८ जेठ
"सूचना, सूचना, सूचना
आदरणीय वडाका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरु, हाल यस वडामा पनि कोभिड १९ को संक्रमितहरु दिनहुँ बढिरहेको हुँदा सचेत रहनु हुन अनुरोध छ । नेपाल सरकारले कोरोनाको लक्षण भएकाहरुको नि:शुल्क स्वास्थ्य परिक्षण गरिरहेको हुँदा वडा कार्यालय वा स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध छ । साथै अन्य जिल्ला तथा बाहिरबाट आउनु भएका व्यक्तिहरुले अनिवार्य कोरोना जाँच गराउनु हुन अनुरोध छ । साथै कसैलाई स्वास्थ्य समस्या परेमा वडा कार्यालय वा स्वास्थ्य केन्द्रमा तुरुन्त सम्पर्क गरि आफू र आफ्नो परिवार सुरक्षित राख्नु हुन सूचित गरिन्छ । साथै नियमित साबुन पानीले हात धुनु हुन वा सेनिटाइजर लगाउनु हुन समेत अनुरोध छ ।"
यो कुनै रेडियोमा प्रसारण भएको होइन, यो त थाहा नगरपालिकाको पश्चिमी वडा नम्बर ८ का वडाध्यक्ष टिकाराम रुम्बाले हरेक दिन माइकमा भन्नु हुने सूचना हो ।
५८ जना वडाबासीमा कोरोना पोजेटिभ देखिएपछि वडाध्यक्ष रुम्बा आफै मोटर साइकलको पछाडि चार्जेवल स्पीकर बाँधेर यिनै सूचनाहरु माइकिङ गरिरहनु भएको छ । एक हप्तादेखि नियमित माइकिङ गर्दै आफ्ना वडाका नागरिकलाई सूचित गराउनै वडाध्यक्ष रुम्बा व्यस्त हुनुहुन्छ । "अहिले मूख्य काम भनेकै कोरोना नियन्त्रण गर्ने हो, मेरो मनदेखि यहि गर्न भन्यो अनि निरन्तर प्रचारप्रसारमा लागिरहेको छु ।" बाइरोडसङ्ग कुरा गर्नु हुँदै अध्यक्ष रुम्बा भन्नुहुन्छ "बरु होम आइसोलेसनले अलि जोखिम बढेको छ तर पनि दैनिक रुपमा सबैको निगरानी गरिरहेको छु ।"
करिव २ हजार २ सय ५० महिला र २ हजार पुरुष गरि ४ हजार २ सय ५० जनसंख्या रहेको ८ नम्बर थाहा नगरको पिछडिएको वडा हो ।
अध्यक्ष रुम्बाले दैनिक रुपले वडाका काभ्रे, देबिस्थान, लामा टोल, पुरानो खानी, खानीगाउँ, छाप, मोरियालगायतका गाउँ वस्तिहरुमा पुग्ने गरिरहनु भएको छ । "अब एक पटक देबीस्थान र बाहुन गाउँमा परिक्षण गर्नु पर्छ" वडाध्यक्ष रुम्बा भन्नुहुन्छ "मानिसहरु अलि अटेर गरिरहेका छन् अब अरु नै बिकल्प खोज्नु पर्छ ।" थाहानगरमा हाल सक्रिय संक्रमितको संख्या करिव ५ सय छ ।

Comments