पल्पसा आइसोलेसन १९ जेठदेखि संचालन हुने
बिरामी र कुरुवालाई खाना, बस्न र औषधि नि:शुल्क
बाइरोड/हेटौंडा/१८ जेठ, मकवानपुर उद्योग वाणिज्य संघले तयार गरिरहेको कोभिड आइसोलेसन १९ जेठबाट संचालनमा आउने भएको छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि संघले आइसोलेसन सञ्चालनको तयारी गरेको थियो । तर सञ्चालनको अनुमति नपाउँदा ढिलाइ भएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको डिसिसिएमसि बैठकले अनुमति दिएपछि संघले पल्पसा सभाहलमा आइसोलेसन सञ्चालन गर्न लागेको हो । सो भवनमा ३० बेडको आइसोलेस तयार भएको र संचालनका लागि सबै व्यवस्था भैसकेको संघका अध्यक्ष कृष्ण कटुवालले बताउनु भयो ।
घर तथा कोठा भाडामा बस्न समस्या भएका कोरोना संक्रमितहरु लक्षित गरि आइसोलेसन संचालन गरिन लागेको हो ।
आइसोलेसनमा आवश्यक बेड, पंखा, टिभी, वाइफाई, तातोपानीलगायतको सुविधा रहनेछ । अध्यक्ष कटुवालका अनुसार आइसोलेसनमा बस्ने बिरामी र कुरुवालाई निःशुल्क खाना, आवश्यक औषधि तथा उपचारको समेत व्यवस्था गरिने छ ।
संक्रमितलाई थप समस्या भएमा उपचारका लागि अस्पताल पुर्याउने, ल्याउने समेत सुविधा संघले उपलब्ध गराउने अध्यक्ष कटुवालले बताउनु भयो । उता काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न स्थानमा सुविधायुक्त आइसोलेसन सञ्चालन गरिरहेको छ ।
यता संघले मकवानपुरका विभिन्न संघसंस्थासँग सहकार्य गरेर मकवानपुर कोभिड हेल्प डेस्क पनि सञ्चालन गरिरहेको छ । जसले संक्रमितको अवस्थाको बारेमा जानकारी लिदैं परामर्श र खाद्यान्न सहयोग गर्दै आएको छ ।
Comments