Byroad News

Loading...

थाहामा कोरोना: यो महिनासम्म ‘रेड जोन’ घट्ला त ?

घर्तिखोलामा नियन्त्रण समिति गठन

थाहामा कोरोना: यो महिनासम्म ‘रेड जोन’ घट्ला त ?

थाहानगर/२८ असार
थाहा नगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिले थाहानगरका विभिन्न टोलहरुलाई ‘कोरोना जोखिम’ घोषणा गरेपछि न्यूनिकरणका लागि टोलस्तरमा समितिहरु गठनको कार्य जारी राखेको छ । 

सोमबार थाहा नगरपालिका ३ घर्तिखोलामा सुदर्शन कार्कीको संयोजकत्वमा ७ सदस्यीय टोलस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा रमेश कार्की, पूर्णबहादुर पाख्रिन, विक्रम विष्ट, पवित्रा ठकुरी, कमला कार्की र प्रमिला कुइँकेल रहनु भएको छ । 

थाहा नगरपालिकामा हिजो आइतबारसम्म कुल २०७८ जनामा परिक्षण गरिएकोमा ९६८ जनामा कोरोना पुष्टि भएको छभने ३ नम्बरमा मात्र ३१२ को परिक्षणमा १३७ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ११६ जना निको, ३ जना मृत्यु भइसकेको छभने अझै १८ जना सक्रिय संक्रमित छन् । 

वडाध्यक्ष राजेश केसीको सभापतित्वमा भएको टोल भेलामा प्रमुख अतिथि उपमेयर खड्ग गोपाली, निर्देशन समितिका सदस्य तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य सुरेन्द्रमान प्रधानले नगरमा कोरोनाको अवस्था र न्यूनिकरणका लागि समुदायको भूमिकाका विषयमा स्पष्ट पार्नु भएको थियो । 

यसअघि थाहा १ कुन्छालमा रुपचन्द्र गोपालीको संयोजकत्वमा टोलस्तरीय समिति गठन गरिसकेको छ । नगरस्तरीय निर्देशन समितिले थाहा १ को कुन्छाल, २ को पालुङ शहर र भाङखोरिया, ३ को घर्तिखोला, ५ को फुर्के र तसर, ६ को सरस्वती बजार र ढल्ट, ११ को नौखण्डे र १२ को तारुकालाई उच्च जोखिम क्षेत्र घोषणा गरि सचेतनाको कार्यक्रमहरु संचालन गर्ने, सो समुदायमा माग र लक्षणका आधारमा एन्टीजेन परिक्षणको दायरा बढाउनेलगायतको निर्णय गरिएको थियो । हाल सबैभन्दा बढी थाहा १ मा ८७, ६ मा ५६, २ मा १४, ४ मा १३, ५ मा ९, ८ मा ७, ९ मा ६, १० मा ११, ११ मा १० र १२ मा १३ जना सक्रिय संक्रमित रहेका छन् । ७ नम्बरमा ८२ जना संक्रमित रहेकोमा सबै निको भइसकेका छन् । 

संख्यामा आधारमा ५, ९ र १० मा थोरै संक्रमित देखिए पनि ती वडाहरुमा परिक्षण पनि निक्कै थोरैमा मात्र गरिएको छ । हालसम्म थाहा ५ मा ७९ जना, ९ मा ४२ जना र १० मा ३१ जनामा मात्र कोरोना परिक्षण गरिएको छ । 

सबैभन्दा बढी परिक्षण गरिएका वडाहरुमा ३ मा ३१२, ६ मा ३०६, १ मा २९२, २ मा २४२, ७ मा २०९, ८ मा १९० र ११ मा १२९ जनाको परिक्षण गरिएको छ । 
यो आंकडाअनुसार धेरै परिक्षण गरिएका वडाहरुमा धेरै संक्रमण र थोरै परिक्षण गरिएका वडाहरुमा थोरै संक्रमण दर भेट्टिएको देखिन्छ । 

स्वास्थ्यकर्मीहरुका अनुसार स्वास्थ्य कायालयहरुमा पुगेर परिक्षण गर्नेहरुमा विरामी भएर मात्र पुग्ने गरेकाहरु छन् । अहिले थाहानगरमा एन्टीजेन किट पर्याप्त रहेको डा. शक्ति चौरासियाले जानकारी दिनुभयो । 
 

Comments

KATHMANDU WEATHER