Byroad News

Loading...

‘स्थानीय सरकारको ध्यान बाटोमा मात्रै माटोमा भएन’ (फोटो फिचरसहित)


‘स्थानीय सरकारको ध्यान बाटोमा मात्रै माटोमा भएन’ (फोटो फिचरसहित)

थाहानगर/२२ असार
यो वर्ष २०७८ को सुरुवात्देखि नै उत्तरी मकवापुर खासगरी थाहा नगरपालिकाका कृषकहरु प्राकृतिक प्रकोपबाट पीडित हुँदै आए । बैशाखको ३ गते र बैशाख १६ गतेको असिनाले करिव ६ सय हेक्टरमा लगाइएको आलु बालीलाई निक्कै नै असर पुर्‍यायो ।

भर्खरै कोरोनाको प्रभाव सुरु भएको मौसम त्यसमाथि थाहानगर कृषि विकास शाखाका प्राय: सबै कर्मचारीहरु कोरोना संक्रमित भएकै कारण असिनाले आलु बालीमा के कति क्षति गर्‍यो भन्ने एकिन विवरण समेत नगरपालिकाले संकलन गर्न सकेन । 

त्यसको लगत्तै हावाहुरीले टनेलमा खेती गरिरहेका कृषकहरु अझ थाहा ९, १० र ६ का कृषकहरुको टनेल उडायो । धेरैको टनेलमा पूर्ण क्षति हुन पुग्यो । कृषि विकास शाखामा आएको क्षति विवरण अनुसार वडा नं. २ मा १ घरधुरी, वडा नं. ३ मा ११, ५ मा १, ६ मा १४, ९ मा ७, १० मा ६८ र ११ मा ४ घरधुरीका टनेलहरुमा पूर्ण क्षति पुगेको छ । क्षति पुगेका टनेलहरुको पुर्न निर्माणका लागि प्लाष्टिक खरिदका लागि सम्झौता भइसकेको कृषि विकास शाखाका प्रमुख सञ्जय तिवारीले जानकारी दिनुभयो ।  

हावाहुरीले उडाइएका टनेलहरुको पुर्न निर्माण नहुँदै बचेका टनेलहरुमा लगाइएको तरकारी बाली फेरि असार १८ गते परेको अविरल वर्षाले करिब १४ सय हेक्टरमा लगाइएको तरकारी बालीलाई पूर्ण तथा आंशिक्ष क्षति पुर्‍याएको अनुमान छ । तर, के कति क्षति भयो एकिन विवरण छैन । ‘कार्यपालिका बैठकले तत्काल अवरुद्ध सडक सुचारु गर्ने निर्णय भएकोसम्म जानकारी छ, तर कृषिमा कुनै निर्णय गरेको जानकारी छैन ।’ कृषि शाखा प्रमुख तिवारीले भन्नुभयो, ‘पछिल्लो क्षतिको विषयमा कुनै निर्णय भएको छैन ।’

थाहानगरमा कुल खेतियोग्य ५१४८ हेक्टर क्षेत्रफल छ । त्यसमध्ये ३३ सय हेक्टरमा खेती हुँदै आएको छ भने अहिले १४ सय हेक्टर क्षेत्रफलमा तरकारी खेति हुने कृषि विकास शाखाको तथ्याङ्कले देखाउँछ । अहिले क्षति पुगेको तरकारीबालीहरुमध्ये काउली, मुला, बन्दा, खुर्सानी छन् । यि बाहेक १३ सय हेक्टरमा लगाइएका मकैबालीहरुमा पनि आंशिक क्षति पुगेको स्थलगत निरीक्षणबाट देखिन्छ ।

‘तरकारीमा क्षति पुगेको तथ्याङ्क संकलन गर्न विपद व्यवस्थापनको बैठकमा मैले प्रस्ताव राखेको थिएँ तर, हाललाई सडक सुचारु गर्न प्राथमिकता दिने निर्णय भयो ।’ जनता समाजवादी पार्टीका थाहानगर नेता इन्द्र बहादुर श्रेष्ठले भन्नुभयो, ‘कृषि क्षेत्रमा बाढी पहिरोले ठूलो क्षति पुगेको हामीले देखेका छौँ तर, क्षतिपूर्तिका लागि स्रोत छैन भन्ने नगरपालिकाको कुरा छ ।’

मुल तस्वीर: थाहा ८ का अध्यक्ष टिकाराम रुम्बाबाट
फिचर तस्वीरहरु: निरज प्रधानबाट

तस्वीरमा तरकारीमा बालीमा बाढीले पुर्‍याएका केहि क्षतिहरु:


 

Comments

KATHMANDU WEATHER