काठमाडौं/२० जेठ
आगामी असार १ देखि मेलम्चीबाट करिब दुई महिना काठमाडौंमा पानी नआउने भएको छ । सुरुङमार्गको परीक्षण कार्यविधि (प्रोटोकल) पुरा गर्न सुरुङमा असारदेखि पानी पठाउन बन्द गर्न लागिएको हो ।
आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार असार १ देखि पानी भर्न बन्द गरेपनि १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्छ । त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर अवस्थाको अध्ययन गर्नेछन् । समस्या देखिएको भए त्यसको समाधान पनि गर्नेछन् ।
यो काम काठमाडौंमा खानेपानी वितरण सुरु गर्नुअघि नै गर्नुपर्ने थियो । तर, उद्घाटनको हतारोका कारण पछि सारेर सुरुङ परीक्षणविनै सञ्चालन गरिएको थियो ।
पन्तकाअनुसार करिब दुइ महिना अब मेलम्चीको पानी काठमाडौं आउने छैन ।
मेलम्चीको १० फागुनमा सुरुङमा पानी भर्न थालिएको थियो । साढे २६ किलोमिटर लामो सुरुङ भरिएपछि फागुन २२ गते सुन्दरीजलमा खसालिएको थियो । सुरुङबाट सफा पानी आउन थालेपछि वितरण केन्द्रबाट पानी प्रशोधन गरेर चैत १५ गतेबाट वितरण लाइनमा पठाउन थालिएको थियो ।
कार्यतालिकाअनुसार सुरुङमा भरिएको पानी ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलका ४ वटा फ्लसिङ टनेलबाट बाहिर फाल्नुपर्ने थियो । त्यसपछि सुरुङ पूरै खाली गरेर समस्या भए/नभएको अध्ययन गर्नुपर्ने थियो । तर, प्रधानमन्त्री कार्यालयले उद्घाटन छिटो गर्न सुरुङ खाली नगर्ने र सुरुङमा पानी हाल्दा प्रभाव परे/नपरेको अध्ययन नगर्न आयोजनालाई दबाव दिएको थियो । प्रोटकेल मिच्दा उद्घाटन २ महिना महिना दिन वर गरेको थियो ।
हतार-हतार उद्घाटन गर्नकै लागि पानी हाल्दा सुरुङमा प्रभाव परे/नपरेको सुपरीवेक्षण नगर्ने सरकारी योजनाप्रति आयोजनाकै प्राविधिकहरुले भने चित्त बुझाएका थिएनन् । छिटो गर्ने नाममा आयोजनालाई दीर्घकालमा समस्या पर्नसक्ने उनीहरुको चेतावनी थियो ।
विज्ञहरुले पनि २५ वर्ष प्रतीक्षा गरेको परियोजनामा गर्नैपर्ने २५ दिनको काम नगरी सरकारले जोखिम मोल्न लगाएको बताएका थिए । भरिएको सुरुङ खाली गराएर कहाँ-कहाँको अवस्था कस्तो छ भनेर विज्ञबाटै सुपरीवेक्षण गराउनुपर्ने थियो ।
पानी भरेपछि चट्टानको प्रकृतिअनुसार सुरुङको संवेदनशील क्षेत्रमा कुनै समस्या देखिएको हुनसक्ने विज्ञ बताउँछन् । त्यसलाई समसमै समाधान नगरे भविष्यमा समस्या हुने विज्ञहरुको चेतावनीपछि असारमा मात्रै परीक्षण गर्ने गरी पानी वितरण थालिएको थियो ।
— अनलाइन खबरबाट
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
6 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments