काठमाडौं/२० जेठ
त्रिभुवन विश्वविद्यालयबाट १९ महिनादेखि रोकिएका सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म गरिने भएको छ ।
बुधबार स्कुल अफ डेमोक्रेसीले "महामारी र शैक्षिक अन्योलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयन"बारे आयोजना गरेको जुम मिटिङमा देशभरिका सबै विश्वविद्यालयका उपकुलपतिहरूले आ–आफ्नो विश्वविद्यालयको समस्या र चुनौतीबारे छलफल गरेका थिए।
कोरोना महामारीका कारण विश्वविद्यालयहरूको शैक्षिक गतिविधि खासै अघि बढाउन नसकेको उपकुलपतिहरूको भनाइ थियो। यसैबीच, त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले कोरोना महामारीका कारण स्नातक पहिलो वर्षका परीक्षा १९ महिनादेखि रोकिएको बताउनु भयो । उहाँले गत वर्ष कोरोना महामारीमै विश्वविद्यालयले अनलाइनबाट कक्षा सञ्चालन गरेको भए पनि दूरदराजका विद्यार्थीको पहुँचमा अनलाइन शिक्षा पुग्न नसकेको बताउनु भयो । उहाँले गत वर्ष अनलाइन कक्षा सञ्चालनकै क्रममा डिन कार्यालय र परीक्षा नियन्त्रण कार्यललयले वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न गत वर्ष नै प्राज्ञिक परिषदले निर्णय गरेको बताउनु भयो । उहाँले त्यहीअनुसार अब डिन कार्यालयल र परीक्षा नियन्त्रण कार्यालय जानुपर्ने आग्रह गर्नु भएको छ ।
‘त्रिविको ७६ जिल्लामा उपस्थिति छ,’ उपकुलपति बाँस्कोटाले भन्नुभयो, ‘त्रिविको १२५ टिचिङ युनिट छ। सबैसँग हामीले दुइ सातासम्म अबको शिक्षा कसरी लाने भनेर छलफल गरेका थियौं। ललितकला, हिन्दी संस्कृत र विराटनगरको नर्सिङको अनलाइन कक्षा सञ्चालन अझै हुन सकेको छैन। अन्यमा हामीले माइक्रोसफ्ट टिमबाट अनलाइन कक्षा सुरु गरेका छौं।’
१९ महिनादेखि रोकिएका स्नातक पहिलो वर्षका परीक्षाहरूको तालिका असार १५ गतेबाट प्रकाशित गर्ने त्रिविको तयारी छ। साउन अन्त्यसम्म सबै परीक्षा सकिन्छ।’ उहाँले परीक्षाहरू डिन कार्यालयसँग सम्बन्धित भए उक्त कार्यालयले अनुकूल विधि प्रयोग गरी परीक्षा लिने र परीक्षा केन्द्रसँग सम्बन्धित भए अनुकूल वैकल्पिक विधि अपनाएर परीक्षा सञ्चालन गर्न निर्देशन गरिएको बताउनु भयो ।
कृषि तथा वन विश्वविद्यालयका उपकुलपति डा. पुण्यप्रसाद रेग्मीले सातवटै प्रदेशका आंगिक कलेज सञ्चालन भएको र अबको पठनपाठन गराउन र परीक्षा सञ्चालन समेत अनलाइनबाटै गर्न कार्यविधि पास भएको बताउनु भयो । सोहीअनुसार अबको पठनपाठन अघि बढ्छ,’ उपकुलपति रेग्मीले भन्नुभयो, ‘यस अघि पनि हाम्रो विश्वविद्यालयले सैद्धान्तिक परीक्षा अनलाइन र प्रयोगात्मक परीक्षा भौतिक उपस्थितिकै आधारमा लिएका थियौं। हाम्रो विश्वविद्यालयमा वन, कृषि तथा मत्यस्यपालनलगायतका विषयहरू पठनपाठन हुन्छ । त्यही भएर प्रयोगात्मक परीक्षा भौतिक उपस्थितिमै गर्नुपर्ने हुन्छ।’
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रा.डा. यादव प्रसाद लामिछाने, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति यादवराज कोइराला, पोखरा विश्वविद्यायका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याललगायतका उपकुलपतिहरूले विश्वविद्यालयका अधिकांश विद्यार्थीहरू दूरदराजका निम्न वर्गकै भएकोले अनलाइन पठनपाठनमा विद्यार्थीको पहुँच पुर्याउन समस्या र चुनौती बनेको जानकारी गराएका थिए। उहाँहरुले सहरी क्षेत्रका विद्यार्थीहरूमा भने अनलाइन कक्षा प्रभावकारी भएको अनुभव सुनाउनु भयो ।
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
6 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments