Byroad News

Loading...

क्वारेन्टीनका लागि ७८ वटा होटल तोकियो

तारे होटलहरुले शुल्क आफै तोक्ने

क्वारेन्टीनका लागि ७८ वटा होटल तोकियो

काठमाडौं/१९ जेठ 
भारतलगायत तीन गन्तव्यको उडानबाट नेपाल आउने यात्रुका लागि ७८ वटा होटललाई क्यारेन्टीन बनाइएको छ । पर्यटन विभागमा दर्ता भएका ७८ वटा होटललाई क्वारेन्टीन होटलको रुपमा सूचिकरण गरिएको हो ।

पर्यटन विभागले १९ जेठमा पाँचतारेसम्मका ७८ वटा होटलको नाम क्यारेन्टीन होटलको रुपमा सार्वजनिक गरेको हो । बिहीबारदेखि भारतलगायत कतार, टर्की र चीन गरी चार गन्तव्यका लागि उडान खुला गरिएको छ । उक्त चार गन्तव्यबाट स्वदेश आउने यात्रुका लागि उक्त होटललाई क्वारेन्टीम बनाइएको हो ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले भारतलगायत अन्य देशबाट आउने यात्रुलाई अनिवार्य १० दिन क्वारेन्टीनमा बस्नुपर्ने व्यवस्था गरेको छ । यस्तै, खाडी मुलुकबाट आउनेले पाँच दिन बसे पुग्छ भने विशेष परिस्थिति भएकालाई होम क्वारेन्टीनमा पठाउने व्यवस्था पनि रहेको छ ।

विभागले सार्वजनिक गरेको ७८ वटा होटलमध्येमा पाँचतारे स्तरका ७ वटा होटल छन् । विभागको सूचना अनुसार काठमाडौंमा सञ्चालित सांग्रिला, होटल र्याडिसन, होटल याक एण्ड यति, ह्यात रिजेन्सी सोल्टी, अलफ्ट होटल र एभरेष्ट होटललाई क्वारेन्टीन तोकिएको हो ।
पाँचतारे होटलका सञ्चालकले २५ भन्दा बढी कोठा क्वारेन्टीनका लागि छुट्टाएका छन् ।

यस्तै, चारतारे स्तरका होटल शंकर र होटल हिमालय, तीनतारे स्तरका समिट होटल, अमादब्लम होटल, साम्बाला होटल, ले हिमालय, होटल प्लाटिनम, होटल ट्रेडिसनल कम्फर्ट र होटल ल्याण्डमार्क गरी ७ होटल क्वारेन्टीनका लागि सूचिकृत छन् । यसबाहेक पर्यटनस्तरका ५१ होटल र दुइ रिसोर्ट पनि क्वारेन्टीन सूचीमा समावेश छन् ।

यसअघि नै एयर बबल अवधारणा अनुरुप नेपाल भित्रनेहरुका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले ८ वटा होटललाई क्वारेन्टीन होटलका रुपमा छुट्टाएको थियो । उक्त होटलमा ७० वटा थप गरी ७८ वटा होटललाई क्यारेन्टीन बनाइएको हो ।

विभागले पर्यटकस्तरका होटलमा बिहानको खाजा, खाना, दिउँसोको खाजा र साँझको खानासहित दैनिक तीन हजार रुपियाँ तोकेको छ तर तारे होटलकोे शुल्क तोकिएको छैन ।तारे होटलका सञ्चालकले क्वारेन्टीन शुल्क आफै निर्धारण गर्नुपर्नेछ ।

Comments

KATHMANDU WEATHER