Byroad News

Loading...

कोरोना संक्रमण नियन्त्रण बाहिर जाने संभावना झनझन बढ्दै


कोरोना संक्रमण नियन्त्रण बाहिर जाने संभावना झनझन बढ्दै
  • रुपचन्द्र गोपाली (संयोजक), टोलस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समिति, कुन्छाल

विश्वमा र नेपालमा कोरोना संक्रमणको दर घट्दै गएको तथ्यांकहरु सार्वजनिक भैरहेको  बेलामा हाम्रो समाजमा भने दिनहुुँ बढ्दो छ । 

थाहा नगरमा कोरोना संक्रमण उच्च जोखिममध्येको एक स्थान थाहा १ कुन्छाल पनि हो । नगर प्रमुख, वडा अध्यक्ष, सुरक्षा निकाय प्रमुख, निर्देशक समितिका पदाधिकारीहरु, डाक्टरहरु  तथा गाउलेहरुको उपस्थितिमा यही असार २२ गते मेरो संयोजकत्वमा पुनः ५ सदस्यीय कोरोना रोकथाम तथा नियन्त्रण समिति पुनर्गठन भयो ।          

तत्पश्चात हाम्रो समितिले हरेक दिन संक्रमितहरुको अवस्था पहिचान गर्ने, हौसला प्रदान गर्ने र मास्क, सेनिटाइजर वितरण गर्ने काम गरिरहेका छौँ ।

साझा धारा, एउटै शौचालय प्रयोग गरिनुपर्ने, छुट्टै बिरामी बस्न मिल्ने उपयुक्त कोठा नहुनु, उपयुक्त भान्सा व्यवस्थापन नहुनु जस्ता समस्याहरु गाउँमा रहेको हामीले पायौं । संक्रमितहरु आफ्नो र अरुको स्वास्थप्रति बेमतलवी देखियो । स्वास्थ मापदण्ड बारे बुझाउने प्रयास गर्दा अपमान गरेको महशुस गरे । त्यही कारण दिनानुदिन एकबाट अर्को व्यक्तिमा संक्रमण फैलिने क्रम जारी छ । यस्तो अवस्थामा छुट्टै बस्ने मुख्य आधार भनेको आइसोलेसन नै हो जसले गर्दा बिरामीसंग अरुको संसर्ग कम हुन्छ ।

हामीले कुन्छालमा १६ बेड क्षमताको ड्राई आइसोलेसन पनि तयार गरेका छौं । उक्त स्थानमा आवश्यक पर्दा आपतकालीन प्रयोगको लागि ४०-४५ जनासम्म मानिसहरूलाई राख्न मिल्ने स्थान छ । नगरपालिका, स्वास्थ संस्था र अन्य सरोकारवाला निकायहरुबाट थप लगानी गरि अझै यसलाई व्यवस्थित गर्नु जरुरी छ । अहिले व्यवस्थापन भएको आइसोलेसनमा हामीले संक्रमितहरुलाई बस्न निकै अनुरोध गर्यौं तर कोही पनि त्यस स्थानमा बस्न तयार भएनन् । यस्तो परिस्थितिमा संक्रमितलाई मानहानी नहुने गरि व्यवहार गर्नु र संक्रमण अर्को व्यक्तिमा सर्न नदिनु चुनौतीपूर्ण कार्य बनेको छ । सम्मानजनक सुरक्षित व्यवस्थापनको लागि ड्राई आइसोलेसनमा अनिवार्य बस्नुपर्ने नियम प्रशासनिक ढंगले अघि बढाउनु अत्यावश्यक भएको छ ।  अन्यथा कोरोना संक्रमण रोक्न सक्ने स्थितिमा हामी सीमित  व्यक्तिहरुको स्वयंसेवकीय भूमिका मात्रले केही गर्न सक्ने अवस्था छैन ।

एकथरी साथीहरू सामाजिक सञ्जालमा कहिले व्यंग्य गर्ने, कोही बठ्याईं गर्ने मिठा साहित्य लेख्ने, कोही समितिमाथि के गरिस त खोइ भनेर प्रश्न गर्ने र तलवी कामदारलाई झैं घुर्क्याउने प्रवृत्तिहरु देखियो । हाम्रो दृष्टिकोणबाट हेर्दा हामीलाई पनि मानिसहरूको प्रवृत्तिमाथि शंका लाग्यो । जसले ठूलो कुरा गरे उनै मानिसहरू आफ्नै घरका संक्रमण हुँदा पनि व्यवस्थापनको सून्य उपाय अवलम्वन गर्नेहरु पनि भेटियो ।

तलवी कर्मचारीहरू तथा जनप्रतिनिधिहरु कोरोना नियन्त्रणको निम्ति केही लागिपरेको जस्तो देखिएता पनि आवश्यकता अनुसार तत्पर नभएको जस्तो लाग्यो, अरुहरुको कार्यशैलीमाथि प्रश्न गर्दा सम्बन्धित पक्षमा कति चित्त दुख्दो रैछ भन्ने कुराको अनुभव हामीलाई पनि छ तर यस्तो विषम परिस्थितिमा  समाजमा हरेक बुझ्ने भनाउदा नेतागण, कुनै न कुनै संघसंस्था तथा समुहका प्रमुखहरु, गाउँको नेतृत्व गर्नुपरे गर्न सक्छु भनेर तयार हुने बुझ्रुकहरु खै कता हराए ? एकदिन ती बेमतलवीहरुलाई इतिहासले पक्कै धिकार्ने छ । समाजमा भैरहेको आगलागी झैं फैलिरहेको यो महामारी नियन्त्रणको निम्ति केही समय खर्चिने बेला अहिले नै हो । 

आवश्यक परे केहीदिन गाउँ नै शिल्ड गर्ने हो या युवा वर्ग तथा समाजका अगुवाहरु एकजुट भएर यो विषम परिस्थितिलाई सहज बनाउने हो बहस गरि छिटो निकास निकालौं । होइन भने इतिहासको पन्नामा हामी सबै नालायक पात्रहरूको सूचीमा दर्ज हुनुपर्ने छ । 
जय देश ! जय समाज !!

Comments

KATHMANDU WEATHER