Byroad News

Loading...

मोक्षधाममा धमाधाम शंख आकृतिका धारा जडान गरिदै


मोक्षधाममा धमाधाम शंख आकृतिका धारा जडान गरिदै

थाहानगर/२७ जेठ

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम भइरहेको छ । 

थाहा नगरपालिका २ र ३ को संगमस्थलमा रहेको शंखमुलमा 'मोक्षधाम शंखमुल नेपाल' नामक संस्था नै दर्ता गरी सोही संस्था मार्फत शंखको आकारको १०८ वटा धारा जडान गर्ने कार्य सुरु गरिएको हो ।

संस्थाका अध्यक्ष गुप्त बहादुर कार्कीका अनुसार शंख जडान गर्नका लागि दाताहरुबाट सहयोग जुटाएइको छ । "एउटा शंख जडान गर्न दाताहरुबाट ४० हजार रुपियाँ संकलन गरेका छौं", उहाँले भन्नुभयो । १०८ दाताले शंख राख्नका लागि रकम उपलब्ध गराइसकेको बताउनुभयो । प्रत्येक शंखका दाताले उपलब्ध गराएको नाम उक्त स्थानमा नै लेख्ने व्यवस्था मिलाइएको अध्यक्ष कार्कीले बताउनुभयो ।

नगरकै गौरवको आयोजना रहेको मोक्षधाम संस्थाका लागि चालु आर्थिक वर्षका निम्ति ३० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले आवश्यक परे थप रकम पनि उपलब्ध गराइने बताउनुभयो। उक्त स्थानमा जडान गरिएका वटा १०८ शंखको आकारको धाराबाट चौबिसै घन्टा पानी झार्नका लागि खैटे खोलाबाट पानी ल्याउने व्यवस्था मिलाएको छ । मोक्षधाममा एउटा ठूलो शंख पनि राख्न निर्माण कार्य पनि सुरु गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।

पौराणिक महत्त्व बोकेको शंखमूलमा १०८ धारा निर्माण गरिसकेपछि यस क्षेत्रमा धार्मिक पर्यटन प्रवद्वनमा योगदान पुग्ने अपेक्षा गरिएको छ । गर्मीयाममा पर्यटकहरू सिमभञ्ज्याङ, दामन, मार्खु र चित्लाङ जस्ता क्षेत्रमा पुग्ने गरेका छन् । प्राकृतिक सौन्दर्यसँगै धार्मिक आस्थाका केन्द्र समेत रहेको थाहा नगरपालिका धार्मिक पर्यटनका लागि आकर्षक बन्दै गएको छ ।

पशुपतिनाथस्थित शंखमूल र थाहा नगरपालिकाको त्रिवेणी शंखमूललाई विश्वका तीन प्रमुख शक्तिशाली शंखमूलमध्येमा गणना गरिन्छ । धार्मिक अगुवाहरुका अनुसार यसको पौराणिक महत्व 'नेपाल महात्म्य हिमवत खण्ड'मा समेत उल्लेख गरिएको छ । विश्वका तीन प्रमुख शंखमूलमध्ये एक पशुपतिनाथमा, अर्को थाहामा र तेस्रो भारतमा रहेको मान्यता छ । नगर प्रमुख विष्ट शंखमूलको संरक्षण र प्रवद्वनले देशव्यापी रुपमा परिचित गराउन सहज हुने अपेक्षा व्यक्त गर्नुभयो ।

शंखमुलमा विशाल शंख, मन्दिर, पार्क, होमकुण्ड तथा तीर्थकुण्ड निर्माणाका लागि डीपीआर बनाइएको छ । ऋषेश्वरबाट उत्तरतर्फ बगेको नारायणी नदी र त्रिवेणीघाटबाट पूर्वतर्फ बगेको नदीको संगमस्थललाई नै शंखमुल गंगा मानिने जनविश्वास छ ।

Comments

KATHMANDU WEATHER