Byroad News

Loading...

६७ वर्षिया गोमाले पाइन् घरमै नागरिकता


६७ वर्षिया गोमाले पाइन् घरमै नागरिकता

थाहानगर/५ जेठ

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाउनु भएको छ । थाहा नगरपालिका वडा नम्बर ८ आग्रा खानीखोलाकी गोमालाई ८ नम्बर वडाध्यक्ष हेमकुमार थिङ र स्थानीय दुतराज थिङको विशेष पहलमा जिल्ला प्रशासन कार्यालय मकवानपुरको टोलीले घरैमा पुगेर नागरिकता वितरण गरेको हो ।

वि.सं. २०१४ साल माघ ७ गते जन्मिनुभएका गोमा पूर्ण अपाङ्ग हुनुहुन्छ । नागरिकता वितरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज प्रसाद पौडेलसहित सहदेव आचार्य, मदन श्रेष्ठलगायतको टोली जेठ ५ गते आग्राको खानीखोला पुग्नु भएको हो । नागरिकता वितरण कार्यक्रममा वडाध्यक्ष हेमकुमार थिङ, वडा सदस्य बद्री थापा, वडा कार्यालयका उमेश थापालगायत स्थानीयहरुको समेत उपस्थिति थियो ।

 जन्मजात नै पूर्ण अपाङ्गता गोमा बोल्न र हिँडडुल समेत गर्न सक्नुहुन्न । नागरिकता प्राप्त गरेसंगै अब उहाँलाई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने प्रक्रिया अघि बढाउने वडाध्यक्ष थिङले बताउनुभयो । अपाङ्गता परिचय पत्रका लागि मेडिकल अधिकृतको समेत चेकजाँच चाहिने भएकोले यसका लागि प्राथमिक स्वास्थ्य केन्द्र पालुङका डाक्टरसंग सहकार्य गरिने थिङको भनाइ छ ।

Comments

KATHMANDU WEATHER