Byroad News

Loading...

प्याव्सनले मेयरलाई बुझायो ध्यानाकर्षण पत्र


प्याव्सनले मेयरलाई बुझायो ध्यानाकर्षण पत्र

निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन)ले देशभरका स्थनीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रमअन्तर्गत थाहा नगर प्याव्सनले पनि नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

विद्यमान शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्नका लागि तयार गरिएको "विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक- २०८०" सरोकारवालाका सुझावहरूलाई वेवास्ता गरी तयार गरि संसदमा टेवल गर्ने तयारी गरेको बिरोधमा प्याव्सनले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै बुधबार ध्यानाकर्षण पत्र बुझाएको हो ।

प्याव्सन थाहानगरका अध्यक्ष सुरेन्द्रमान प्रधानसहित गएको प्याव्सन थाहानगर टोलीले नगर प्रमुख विष्णु बहादुर बिष्टलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

"विधेयकमा राखिएका कतिपय प्रावधानहरू निजी लगानीका संस्थागत विद्यालयहरू प्रति पूर्वाग्रही मात्र नभएर संविधान विपरित, अव्यवहारिक र अन्यायपूर्ण समेत भएको हामीले महसूस गरेका छौँ ।" ध्यानाकर्षण पत्रमा उल्लेख छ, "हाल निजी तथा सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालयहरू नै समस्याग्रस्त रहेको र शैक्षिक गुठी दर्ता तथा सञ्चालन सम्बन्धमा स्पष्टता नभएको अवस्था विद्यमान छ । प्रस्तावित विधेयकले ५ वर्षभित्रमा निजी लगानीका विद्यालयले आफ्ना सम्पूर्ण दायित्व फर-फारक गरी शैक्षिक गुठीमा रूपान्तरित हुनु पर्ने लगायतका बाध्यात्मक प्रावधान समावेश गरिनु संविधानको भावना विपरित, अव्यवहारिक र दुराशययुक्त रहेको स्पष्ट देखिन्छ ।"

"सो सम्बन्धी सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा समेत कुनै ठोस निकास प्राप्त नभएको खण्डमा केन्द्रीय कार्यसमितिले आफ्ना माग पुरा नभएसम्मका लागि देशैभरीका कम्पनी, निजी गुठी तथा सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालयहरू बन्द गरी अगाडि बढ्ने निर्णय गरी निर्देशन दिए पश्चात यस पालिका अन्तर्गतका विद्यालयहरू केन्द्रको निर्देशन प्राप्त हुनसाथ बन्द हुने विषय ध्यानाकर्षणका लागि अनुरोध गर्दछौं ।" पत्रमा उल्लेख छ । थाहानगरमा १० वटा संस्थागत विद्यालयमा करिव ३ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।

Comments

KATHMANDU WEATHER