Byroad News

Loading...

थाहामा ३३ के. भी. लाइन ल्याउन बाटो खुल्यो, अब विद्युत नियमित हुने विश्वास


थाहामा ३३ के. भी. लाइन ल्याउन बाटो खुल्यो, अब विद्युत नियमित हुने विश्वास

थाहानगर/१९ साउन
मातातीर्थ-मार्खु ३३ के.भी प्रसारण लाइन निर्माण गर्न बाटो खुलेको छ ।  

मन्त्री परिषदको साउन १६ गते बसेको बैठकले नेपाल विद्युत प्राधिकरणलाई मातातीर्थ–मल्टा ३३ के. भी. प्रसारण लाइनका लागि 'टावरप्याड’ र 'राइट अफ वे’ को निर्माणका लागि काठमाडौं, ललितपुर र मकवानपुरमा रहेको राष्ट्रिय वन र वन क्षेत्रको २४.६७ हेक्टर जग्गा २० वर्ष प्रयोग गर्न दिने निर्णय गरे पछि लाइन सो कार्यका लागि बाटो खुलेको हो ।

मन्त्री परिषदको निर्णयसँगै विद्युत प्रसारण लाइनका लागि वन क्षेत्रमा पर्ने ४ हजार १ सय ७२ वटा रूख काट्न स्वीकृति दिने निर्णय गरेको छ । योसँगै मातातीर्थ मार्खु ३३ केभी प्रसारण लाइन निर्माणको बाटो खुलेको हो  ।

एक दशक अघिबाट सुरु भएको परियोजना अन्तर्गत मार्खुमा ३३/११ को सब स्टेशन निर्माण भए पनि मातातीर्थ मार्खु खण्ड अन्तर्गत मातातीर्थदेखि मकैबारी हुदैं चखेलसम्म वन क्षेत्र भएका कारण लाइन निर्माण हुन सकेको थिएन । 

मातातीर्थबाट ललितपुरको माल्टासम्म लाइन निर्माण हुन बाँकी भए पनि ईन्द्रसरोवरको चखेलदेखि मार्खुसम्म भने ३३ केभी लाइन निर्माण भईसकेको छ । मातातीर्थ माल्टा खण्डको लाइन अन्तर्गत ईन्द्रसरोवरको चखेलबाट जोडिएर ३३ के.भी. लाइन मार्खु ल्याइने आयोजनाले जनाएको छ । 

मार्खुमा शब स्टेशन बनेको लामो समय हुँदा पनि वन क्षेत्रबाट लाइन निर्माण गर्ने बाटो नखुल्दा आयोजना अलपत्र परेको थियो । 
विद्युत प्राधिकरणले उत्तरी मकवानपुरमा सहज विद्युत वितरण गर्न मार्खुमा ३३/११ शब स्टेशन तयार भएसँगै थाहा नगरको फाँटबजारमा बनाइरहेको ३३/११ को शब–स्टेशनको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । सोही परियोजना अन्तर्गत मार्खु पालुङ ३३ के.भी. लाइम निर्माण कार्य धमाधम भईरहेको पनि प्राधिकरणले जनाएको छ । ईन्द्रसरोवर र थाहाका केहि भू-भागमा मार्खु शब स्टेशनबाट र थाहा नगरसहित कैलाशका केहि वडामा फाँटबजार शब स्टेशनबाट विद्युत प्रसारण गर्ने योजना रहेको पालुङ वितरण केन्द्रका प्रमुख विरमान रास्कोटीले बताउनु भयो । 

विगतदेखि धोर्सिङ्ग शब स्टेशनको एकमात्र स्रोतबाट करिब २ सय किलो मिटर लामो ११ के. भी. लाइन मात्रको पहुँच हुँदा लाइन नियमित नहुने, भोल्टेज कम हुने र लाइनमा समस्या आईरहने गुनासो ३३ के.भी. लाइन निर्माण भई सब स्टेशन संचालन भएपछि सम्बोधन हुने पनि केन्द्र प्रमुख रास्कोटीले बताउनु भयो ।

Comments