Byroad News

Loading...

काठमाडौंका रेस्टुरेण्टहरु अब राती १२ बजेसम्म खुल्न पाउने


काठमाडौंका रेस्टुरेण्टहरु अब राती १२ बजेसम्म खुल्न पाउने

काठमाडौं/१५ मङ्सिर 
काठमाडौंमा सञ्चालित रेष्टुरेण्टहरू अब रातको १२ बजेसम्म खोल्न पाइने भएको छ । यसअघि रातको १० बजेसम्म मात्रै खोल्न पाइने रेष्टुरेण्टको समय बढाएर अब १२ बजेसम्म बनाइएको हो । बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यक्षको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले रेष्टुरेण्ट, बार तथा दोहोरी क्लब र नाइट क्लब खुला गर्ने समयमा परिवर्तन गरेको हो । 

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेलका अनुसार मदिरा पसल, रेष्टुरेण्ट, बार तथा दोहोरी साँझ र नाइट क्लब खुला हुने समयमा परिवर्तन गरिएको छ ।  ढुङ्गेलका अनुसार अब मदिरा पसलहरू राती १० बजेसम्म खुला गर्न पाइने छ । बोतलबन्दी वा बिर्कोसहित बिक्री हुने मदिरा पसलहरू रातको १० बजेसम्म मात्रै खुला गर्न पाइने छ । 

त्यसैगरी रेष्टुरेण्टहरू रातको १२ बजेसम्म खुला गर्ने निर्णय भएको छ । यसअघि राती १० बजेसम्म मात्रै खुला गर्न पाउने रेष्टुरेण्टलाई १२ बजेसम्म खुला गर्न पाउने बनाइएको हो । रेष्टुरेण्ट व्यवसायीबाट व्यापक गुनासो आएपछि रातको १२ बजेसम्म खुला गर्ने निर्णय भएको सहायक प्रजिअ ढुङ्गेलले बताउनु भयो ।

त्यसैगरी डान्स बार, दोहोरी रेष्टुरेण्ट, लाउन्ज, पब र बारहरु बिहानको २ बजेसम्म खुला गर्न दिने निर्णय भएको छ । डिजेसहितको नाइट क्लब भने बिहानको ४ बजेसम्म खुला राख्न पाउने भएको छ । यसअघि रात्रीकालीन व्यवसाय भनेर सबैलाई बिहानको २ बजेसम्म मात्रै खुला राख्न पाउने निर्णय भएको थियो । 

Comments

KATHMANDU WEATHER