Byroad News

Loading...

वीच भलिवलसङ्गै विविध कार्यक्रम हुने


वीच भलिवलसङ्गै विविध कार्यक्रम हुने

थाहानगर/३१ भदौ
उत्तरी मकवानपुरस्थित थाहा कला केन्द्रले वीच भलिवल प्रतियोगितासङ्गै साँस्कृतिक महोत्सव पनि गर्ने भएको छ । कला केन्द्रले कार्यक्रमसम्बन्धी प्रचार गरेको व्यानरमा भलिबलसङ्गै साँस्कृतिक महोत्सब पनि हुने जानकारी गराएको हो । 

केन्द्रले असोज १४ गतेदेखि १७ गतेसम्म थाहा नगरमा पहिलो पटक वीच भलिवल प्रतियोगिताको आयोजना गर्दैछ । थाहा ३ स्थित जनकल्याण माविको प्राङ्गणमा हुने भनिएको प्रतियोगिताकै बिच केन्द्रले अन्य आकर्षणहरुमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम, स्थानीय झाँकी प्रदर्शनी, थाहा नगरको पर्यटकीय क्षेत्रको तस्वीर प्रदर्शनी बोर्ड तथा थाहा-१ का शारीरिक अपाङ्गता भएका अमिर बम्जनले मुखले बनाएका चित्रकला प्रदर्शनी समेत गर्ने भनिएको छ ।  

गीतसङ्गीत र अभिनयमा मात्रै सीमित नराखिएको कलाकेन्द्रले यस अघि पनि विविध सामाजिक कार्यक्रमहरुको आयोजना तथा व्यवस्थापन गर्दै आइरहेको छ । 

नगरमा पहिलो पटक आयोजना हुन लागेको वीच भलिवल प्रतियोगितालाई सरोकारवालाहरुले रुचीका साथ हेरेका छन् । सामाजिक सञ्जालहरुमा पनि प्रतियोगिताको प्रचार देख्न सकिन्छ । प्रतियोगिताकैबिच कलाकेन्द्रले नेवारी खाजा प्रदर्शनी स्टल, विभिन्न भेराइटी खाजा खाना परिकार प्रदर्शनी स्टल, नगरको हस्तकता सामाग्री प्रदर्शनी तथा थाहानगरमै पहिलोपटक मैत्रीपूर्ण महिला भलिवल समेत आयोजना गरिने केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले जानकारी दिनुभयो । 

कार्यक्रम नजिकिदै गर्दा कार्यक्रमको तयारीलाई तिव्र पारिएको छ । कार्यक्रमलाई थाहा स्पोर्ट्स एकेडेमीका अध्यक्ष युवराज विष्टले संयाेजन गर्ने भएका छन् । विष्ट थाहा २ का नव निर्वाचित वडा सदस्य पनि हुन्  ।
 
थाहा नगर भलिवल संघसङ्गको समन्वयमा गरिने वीच भलिवलमा जिल्ला भरिका खेलाडीहरुले सहभागिता जनाउने अपेक्षा गरिएको छ । एउटा टिममा दुई जनाको मात्रै सहभागी रहने भएकोले सहभागी टिम ५० भन्दा बढी हुन सक्ने थाहा नगर भलिवल संघका अध्यक्ष वसन्त गोपालीको अनुमान छ । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमश: नगद ५० हजार, २५ हजार र १० हजार, शिल्ड मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट हुने टिमले ५ हजार र उत्कृष्ट खेलाडी एक जनाले समेत ५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

कार्यक्रमलाई थाहा नगरपालिका, थाहाका संघसंस्था, सहकारी, होटल ब्यवसायी, स्थानीय बुद्दिजिवी तथा पत्रकारहरुको प्रत्यक्ष सहयोग रहेको छभने अन्य प्रायोजकहरु पनि सम्पर्कमा आइरहेको आयोजकले जनाएको छ ।

Comments