Byroad News

Loading...

एमाले थाहा प्रतिवद्वता पत्र: काठमाडौंको भगिनी सहर बनाउनेदेखि एक घर एक टनेलसम्म


एमाले थाहा प्रतिवद्वता पत्र: काठमाडौंको भगिनी सहर बनाउनेदेखि एक घर एक टनेलसम्म

थाहानगर/१९ वैशाख 
आशन्न स्थानीय निर्वाचन लक्षित गर्दै नेकपा एमालेले मकवानपुरको थाहा नगरपालिकाको लागि प्रतिवद्वता पत्र सार्वजनिक गरेको छ ।

'सुशासन, विकास र आर्थिक समृद्धि हाम्रो रहर - कृषि, पर्यटन र पूर्वाधारसहितको सुन्दर थाहानगर' नारा दिइएको प्रतिवद्वता पत्रमा  करिव ८२ बुँदाहरु समावेश गरिएको छ ।

प्रतिवद्वतापत्रमा यातायात, पदमार्ग तथा भौतिक पूर्वाधार, खानेपानी व्यवस्थापन, शिक्षा, युवा रोजगार तथा खेलकुद, 
फोहर मैला व्यवस्थापन, जनस्वास्थ्य, सामाजिक सुरक्षा, जलवायु परिवर्तन, विपद व्यवस्थापन तथा सहरी सुरक्षा, सुचना तथा सञ्चार, सम्पदा संरक्षण तथा पर्यटन विकास, कृषि, पशु सेवा तथा बजार व्यवस्थापनलागयतका मूख्य योजना तथा कार्यक्रमहरु समावेश गरिएको छ ।

यातायात, पदमार्ग तथा भौतिक पूर्वाधार अन्तर्गत चित्लाङ-चन्द्रागिरी-थानकोट सडक (गणेशमान सिंह मार्ग)को स्तरोन्नतिका लागि नियमित योजना सञ्चालन गर्न पहल गर्ने, थाहा नगरलाई काठमाडौंको भगिनी सहरको रुपमा विकास गर्न चित्लाङ-थानकोटमा सुरुङ मार्ग निर्माण गर्न डीपीआर तयार गर्न लगाई आवश्यक पहल गर्ने, नगरका प्रत्येक टोलहरुलाई सडक सञ्जालमा जोड्दै निर्माण सम्पन्न भइसकेका सडकहरुको स्तरोन्नति गर्ने, त्रिभुवन राजपथको स्तरोन्नति गर्नका लागि आवश्यक पहल गर्ने लगायतका कुराहरु उल्लेख छ ।

खानेपानी व्यवस्थापन अन्तर्गत 'एक घर एक धारा-नगरको अभिभारा' नारा दिएर सबै घरपरिवारलाई खानेपानीको पहूँचमा पुर्‍याउने योजना अघि सारेको छ ।

शिक्षा अन्तर्गत थाहाको ५ र १२ नम्बर वडामा मावि तहसम्मको सुविधासम्पन्न भवन सहितको विद्यालय स्थापना गर्ने, कक्षा १२ सम्म नि:शुल्क शिक्षा, थाहानगरमा कम्तिमा एक विद्यालयलाई पूर्ण प्राविधिक विद्यालय बनाउने, विद्यालयमा कार्यरत निजी स्रोत शिक्षक तथा कर्मचारीहरुलाई प्रोत्साहन भत्तासहित सरकारी सोसरह पारिश्रमिकको व्यवस्था गर्ने उल्लेख छ । 

युवा रोजगार तथा खेलकुद अन्तर्गत प्रत्येक  वडाका बेरोजगार युवाहरुका लागि रोजगार कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक खेलकुद मैदान निर्माण गर्ने योजना उल्लेख छ ।

फोहरमैला व्यवस्थापनतर्फ ढल निकासको उचित व्यवस्थापन गर्ने र हाल रहेका सार्वजनिक शौचालयहरुलाई व्यवस्थित गर्ने र नभएका बजारहरुमा नयाँ शौचालयहरु निर्माण गर्ने, घर घर मै फोहर व्यवस्थापन गर्ने लगायतका कुराहरु उल्लेख छ ।

कृषि कार्यक्रमतर्फ कम्तिमा एक घर एक टनेलको निर्माण कार्यलाई अनिवार्य कार्यक्रमको रुपमा लागू गरि कम्तिमा बीउ उत्पादनमा जोड दिने उल्लेख छ । 

पर्यटनतर्फ राज्यको पर्यटकीय सूचीमा कायम गराउदै उचित प्रचारप्रसार गर्ने, दामनमा रहेका सार्वजनिक तथा सरकारी जग्गाहरुलाई भाडामा उपलब्ध गराएर ठुला होटल तथा रिसोर्टहरु निर्माणमा प्राथमिकता दिइने उल्लेख छ ।

सामाजिक सुरक्षातर्फ ८० वर्षमाथिका वृद्धवृद्धाहरुलाई मासिक एक हजार रुपैया भत्ता घरघर मै पुगेर वितरण गर्नेलगायतका कुराहरु उल्लेख छ ।

स्वास्थ्य अन्तर्गत थाहानगरका प्रत्येक परिवारलाई स्वास्थ्य बीमा अनुदानमा जोड्ने योजना उल्लेख छ । सबै गर्भवती महिलालाई स्वास्थ्य केन्द्रमै सुत्केरी गराउने, एम्बुलेन्स भाडा बापत ५ हजार रुपैयाँसम्म उपलब्ध गराउने लगायतका योजनाहरु समावेश छन् । 

Comments

KATHMANDU WEATHER