थाहालाई स्वास्थ्य सामग्री सहयोगको क्रम जारी
शनिबार पनि पोखराबाट अक्सिजन कन्सट्रेटर सहयोग
थाहानगर/२२ जेठ
दोस्रो भेरियन्टमा कोरोना संक्रमणको दर बढिरहेको थाहा नगरपालिकामा स्वास्थ्य सामग्री सहयोग गर्ने दाताहरुबाट सहयोगको क्रम पनि जारी छ ।
पोखरामा क्रियाशील सेवाका लागि युवा संस्थाले थाहानगरलाई स्वास्थ्य उपकरणसहित सामाग्रीहरु सहयोग गरेको छ । सेवाका लागि युवा सेवा क्यानडा इन्टरनेशनलले शनिबार २ वटा अक्सिजन कन्सट्रेटर, ४ सय ५० थान सर्जिकल मास्क, ग्लोब्स १ सय थान, पिपिई १५ थान र सेनिटाइजर ५ बोतल सहयोग गरेको हो ।
पोखराबाट थाहा नगरपालिका कार्यालय मै आएर संस्थाका अध्यक्ष अशिलकुमार शाही र सचिव छेवाङ कर्मा तामाङले नगर प्रमुख लवशेर विष्टलाई सामाग्रीहरु हस्तान्तरण गर्नु भएको हो । गैर सरकारी संस्था च्वाईस नेपालमा कार्यरत थाहा–४ का घनश्याम थापाले सहयोगी संस्थासंग समन्वय गर्नु भएको थियो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष शाहीले उल्लेख्य सहयोग गर्न नसकेपनि थाहा नगरपालिकालाई केही भरथेग गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले आफ्नो संस्थाको सहयोगबाट विरामी व्यक्तिहरुले सेवा पाउनेमा विश्वास व्यक्त गर्नु भयो । स्वास्थ्य लगायत अन्य सीपमुलक व्यवसाय र आयआर्जनका क्षेत्रमा समेत कार्य गर्दै आएको सो संस्थाले कोभिड रोकथाम तथा नियन्त्रणका लागि मात्र नभइ अन्य विषयगत कार्यक्रममा समेत थाहा नगरपालिकासङ्ग सहकार्य गर्ने अध्यक्ष शाहीले प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सामग्री ग्रहण गर्दै प्रमुख विष्टले पोखरादेखि थाहानगरका बिरामीहरुको माया गरेर सामग्री सहयोग गरेकोमा धन्यबाद दिनु भयो । उहाँले नगरपालिकामा प्राप्त सामग्रीहरुको पूर्ण उपयोग गरि कोरोना परास्त गर्ने अभियानमा लाग्ने विश्वास व्यक्त गर्नु भयो । प्राय: सबै स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौमीहरुमा सकेको सेवा सुविधा प्रदान गर्दै आइरहेकोमा यो सहयोगले थप मद्दत पुगेको बताउनु भयो ।
कार्यक्रममा स्थानीय समन्वय भूमिका गर्नु हुने घनश्याम थापाले संस्था र थाहानगर बीचको समन्वय जारी राख्ने र अन्य कार्यक्रमहरु पनि संचालनका लागि पहल गर्ने बताउनु भयो । च्वाइस नेपालका ग्रामीण विकास विशेषज्ञ कुल प्रसाद तिवारीले थाहानगरसङ्ग सामाजिक काम गर्न निकै सहज रहने प्रतिक्रिया दिनुभयो । च्वाइस नेपालले केही वर्ष अघिदेखि थाहानगरमा सामुदायिक सशक्तीकरण तथा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा विकास साझेदार भई कार्य गर्दै आएको छ ।
Comments